सपिङ कम्प्लेक्सका व्यापारीले बजार अनुगमन टोलीलाई घेराबन्दी गर्दै फेरि थर्कायो

Advertisement

काठमाडौं । बजार अनुगमनमा निस्किएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोली व्यापारीहरुको घेराबन्दीमा परेको छ । बजार अनुगमन गर्न गंगबुस्थित बिजी मलमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले बिक्री मूल्यभन्दा दोब्बर मूल्य लिई सामान बेचिरहेका व्यापारीलाई कारवाही गर्न खोज्दा अन्य व्यापारीहरु आक्रोसित हुँदै घेराबन्दी गरेका हुन् ।

अनुगमनमा विभागका महानिर्देशन योगेन्द्र गौचनसहितको टोली अनुगमनमा पुगेको थियो । अनुगमनको क्रममा एक व्यापारीले चर्को मूल्य लिई सामान बेचिरहेको भेटिएको थियो । ती व्यापारीले बिक्री मूल्यभन्दा झण्डै दोब्बर मूल्य थपेर उपभोक्तालाई लत्ताकपडा र जुत्ता बिक्री गरिरहेको पाइएको थियो । यसअघि गौचन नेतृत्वको अनुगमन टोली न्यूरोजको रञ्जना कम्प्लेक्समा पनि व्यापारीहरुले घेराबन्दी गर्दै थर्काएका थिए ।

अनुगमन टोलीले उनलाई कारवाही गर्न खोजेपछि अन्य व्यापारीहरु अनुगमन टोलीविरुद्ध नाराबाजी गर्दै घेराबन्दी गर्न पुगेको थियो । अनुगमनमा सहभागी अधिकारीहरुका अनुसार दशैंको समयमा सटर बन्द गराएर व्यापारीहरुको बिचल्ली बनाउन नपाइने भन्दै कारवाही रोक्न दबाब दिएका थिए ।

व्यापारहरुले घेराबन्दी गरेपछि सुरक्षाकर्मी बोलाएर टोली घेराबाट मुक्त भएको थियो । यस विषयमा विभागीय मन्त्रालयलाई समेत जानकारी भइसकेको विभागले जनाएको छ । उपभोक्तासँग चर्को मूल्य लिई सामान बेच्ने र अनुगमनमा असहयोग गर्ने व्यापारीहरुलाई जरिवाना गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement