अब बीमाको पनि सूचना केन्द्र, बीमितको तीन पुस्ते विवरण, सम्पति शुद्धीकरणमा कडाई

Advertisement

काठमाडौं । बैंकहरुले खराब ऋणीहरुको विवरण राख्न कर्जा सूचना केन्द्र बनाए जस्तै बीमा कम्पनीका बिमितहरुको सूचना राख्ने गरि बीमा सूचना केन्द्र बन्ने भएको छ । बीमा समितिले बिमितहरुको तीन पुस्ते विवरण राख्ने गरि बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको हो । त्यसका लागि बीमा कम्पनीहरुसँग छलफल गरेर सैद्धान्तिक सहमति समेत गरिसकिएको छ ।

बीमा समिति उच्च श्रोतका अनुसार सूचना केन्द्रका लागि समितिले ३ लाख रुपैंया लगानी गर्नेछ । बाँकी ३९ वटा बीमा कम्पनीहरुबाट एक एक लाख रुपैंया संकलन गरेर सूचना केन्द्र खडा गर्न लागिएको हो । त्यस्तो केन्द्रलाई कम्पनी मोडलमा लगेर स्वायत्त बनाउनेबारे मोटामोटी सहमति भएको छ । ‘बीमितहरुको तीन पुस्ते विवरण राख्ने गरि बीमा सूचना केन्द्र स्थापना गर्ने निधो भएको छ, सञ्चालनको मोडल बनाएर बीमा समितिको सञ्चालक समितिमा लैजाने तयारी भैरहेको छ’, बीमा समिति उच्च श्रोतले भन्यो ।

श्रोतका अनुसार यसरी तयार हुने केन्द्रमा सबै बीमीतहरुको तीन पुस्ते विवरण अद्यावधिक गरिनेछ । नयाँ बीमीतहरुले पोलिसी खरिद गर्ने वित्तिकै उनीहरुको सम्पूर्ण विवरण केन्द्रमा अपडेट हुनेछ । कुनै पनि कम्पनीले बीमाको दावी भुक्तानी गर्नु अघि केन्द्रबाट विवरण फेरिभाई गर्नेछन् । यसले गलत बीमा दावी भुक्तानीलाई रोक्ने दावी गरिएको छ ।

त्यसका अलवा बीमा मार्फत हुने सम्पति सुद्धिकरणलाई समेत रोक्न सहयोग पुग्ने बीमा समितिको निष्कर्ष छ । ‘पछिल्लो समय बीमामा सम्पति सुद्धिकरणको सवाल पेचिलो बनिरहेको छ, त्यसलाई रोक्न पनि सूचना ल्याउन लागिएको हो’, समिति श्रोतले भन्यो । सम्पति शुद्धीकरण सम्बन्धी राष्ट्रिय रणनीतिमा पनि बीमाबाट हुने जोखिमलाई न्युनीकरण गर्ने उल्लेख गरिएको थियो ।

कम्पनी मोडलमा स्थापना हुने सूचना केन्द्रमा हरेक कम्पनीले आफ्ना बीमीतहरुको विवरण अद्यावधिक गर्दा निश्चित शुल्क तिर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सःशुल्क विवरण राख्नुपर्ने व्यवस्थाले केन्द्रलाई आत्मनिर्भर र स्वायत्त बनाउन सहयोग पुग्ने निष्कर्षमा समिति र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु पुगेका हुन् ।

Advertisement

Advertisement

Advertisement