त्रियुगा नदीमा पुल निर्माण गर्न थालिएको १० वर्षमा पनि अझै पूरा भएन

Advertisement

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ५ को शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु गरेको १० बर्ष बितिसके पनि निर्माण कार्य अझै पूरा भएको छैन । १० वर्षअघि सुरु भएको पुल पटकपटक म्याद थप्दा पनि निर्माण कार्य अधुरै रहेको हो ।

सरकारी उदासीनता र ठेकेदारको चरम लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा उदयपुरको मुख्य व्यापारी केन्द्र पर्ने बेल्टार बजार र आसपास क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । विभिन्न बहाना देखाउँदै निर्माण कम्पनीले लापरबाही गर्दा पनि सडक विभाग मुकदर्शक बनेकाले आफूहरुले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ ।

समयमा पुल निर्माण सम्पन्न नहुँदा सास्तीपूर्ण यात्रा गर्न बाध्य हुँदै आएको स्थानीय निरबहादुर चौधरीले सुनाए । उनले भने ‘ठेकदारको लापरबाहीको कारण दशक पुग्दा पनि पुल बनाउने काम सकिएको छैन् । सडक विभागले वास्ता नगर्दा पनि पुल निर्माणमा समस्या भएका उनले बताए ।

आर्थिक वर्ष २०६७/६८ मा निर्माण प्रारम्भ भएको पुल २०७०र७१ मा पूरा हुनुपर्ने हो । पुरानो डिजाइन परिवर्तन गरेर नयाँ डिजाइनअनुसार काम गर्नुपरेको, तीनओटा पिल्लर निर्माणस्थलमा रुखका ठूटा भेटिएको र सरकारले समयमै पर्याप्त रकम नपठाएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी र लोकप्रिय जेभीको दाबी छ । तर सुरुसुरुमा ठेक्का लिएको महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयले बताएका छन् ।

निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले ८० प्रतिशत काम पूरा भएको मूल्यांकन गरेको छ । आयोजना प्रमुख पशुपति ज्ञवालीले वैशाखसम्म पुल निर्माण सम्पन्न हुने बताए । असारसम्ममा पुल निमाण सकिएर हस्तान्तर हुने गरी काम गर्न ठेकेदारलाई पत्राचार गरिएको उनले बताए । पुल निर्माणमा लापरबाही गरेका कारण निर्माण कम्पनी महालक्ष्मीरलोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब एक करोड जरिवाना गरिएको आयोजनाले जनाएको छ । ६९ लाख रुपियाँ जरिवाना तिरेको र बाँकी रकम तिर्न बाँकी रहेको आयोजना प्रमुख ज्ञवालीले बताए ।

गाईघाट दित्तेल सडक आयोजका इन्जिनियर प्रवीण चौधरीले पुलको लागत करिब १३ करोड रुपिँया रहेको बताए । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट हुने इन्जिनियर चौधरीले बताए । ‘पुल गएको असार २० गते नै सम्पन हुनुपर्ने हो’ इन्जिनियर चौधरीले भने, ‘तर विभिन्न कारण देखाउँदै ठेक्कदारले काम गर्न नसक्दा ढिलो भएको छ ।’ पुल निर्माण अन्तिम चरणमा रहेकोले काम सुरु गर्ने ठेकेदारलाई पटकपटक लिखित पत्राचार गरिएको उनले बताए ।

पुलको निर्माण आर्थिक वर्ष ०७०/७१ सम्पन गर्ने गरी ठेक्का बन्दोबस्ती गरिएको भएतापनि विभिन्न बहानामा निर्माणको समयसीमा लम्बिँदै गएको हो । ९ करोड ७६ लाख रुपियाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत करिब १३ करोड पुगेको आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement