विकास समिति बैठकमा निर्देशन कार्यान्वयनको अवस्थाबारे छलफल, यसरी प्रस्तुत भए सीईओ ज्ञवाली

Advertisement

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाबारे शुक्रबार छलफल गरेको छ । समिति सभापति कल्याणी खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफ्नो कार्यालयका तर्फबाट हालसम्म सम्पादन भएका कार्यहरु बारे स्पष्ट पारे ।

सीईओ ज्ञवालीका अनुसार २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवासको संख्या ९९ हजार ७ सय ७८ थप भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आएका गुनासो सुनुवाई पछि उक्त संख्या थप भएको समिति बैठकमा सीईओ ज्ञवालीले बताए ।

सीईओ ज्ञवालीका अनुसार प्रवलीकरण लाभग्राही तर्फ भने ७१ हजार २ सय ९८ थपिएका छन् । समितिको बैठकमा उनले २०७५ सम्म जम्मा लाभग्राहीको संख्या ८ लाख १६ हजार ५२२ रहेको तथ्य प्रस्तुत गरे । ती मध्ये ५ लाख २१ हजार ७ सय ३७ जनाले तेश्रो किस्ता भुक्तानी लिइसकेका छन् ।

भुकम्पबाट क्षति भएका निजी आवासतर्फ हालसम्म ४ लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएका छन् । पुननिर्माण गर्नु पर्ने कूल घरसंख्या मध्ये ६२ प्रतिशत घर मात्र निर्माण सम्पन्न भएको सीईओ ज्ञवालीले बताए । त्यस्तै प्रवलिकरणतर्फ ६९ हजार ६ सय १३ जना मध्ये ३६ हजार २ सय १५ जनाले प्रथम किस्ता बुझेका छन् ।

प्राधिकरणका अनुसार पुरातात्विक एवम् साँस्कृतिक सम्पदा तथा परम्परागत बस्तूहरुतर्फ भूकम्प अति प्रभावित १४ जिल्लाका ७५३ संरचना मध्ये ३८७ वटा पुनर्निमाण सम्पन्न भएका छन्, १२३ वटाको पुनर्निर्माण जारी छ भने २४३ वटाको काम शुरु हुन बाँकी छ । त्यसैगरी कम प्रभावित १७ जिल्लाका १३८ पुननिर्माण गर्नु पर्ने संरचना आव २०७६/७७ बाट शुरु गरी २०७८/७९ मा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

समितिको बैठकमा सीईओ ज्ञवालीले पुरातात्विक एवम् साँस्कृतिक सम्पदा पुननिर्माणतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको, धरहराको तेश्रो तलाको ढलान भएको, गोश्वरा हुलाक स्थानान्तरणको लागि प्रिफ्याब भवन निर्माणको कार्य सम्पन्न भै कार्यालय सरेको र राष्ट्र बैंक टक्सार कार्यालय नेपाल औषधी लिमिटेडको भवनमा स्थानान्तरण गरिएको बताए ।







Advertisement

Advertisement

Advertisement