भ्रमण बर्ष २०२० लाई सफल पार्ने निगमको रणनीति, प्याकेजमा टिकट बिक्रीको व्यवस्था

Advertisement

काठमाडौँ । नेपाल वायुसेवा निगमले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको बैठकले निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सवै सवारी साधनमा नेपाल भ्रमण बर्ष २०२० का लोगोहरु अड्ढित गर्ने निर्णय गरेको हो । उक्त निर्णय तत्काल लागू गर्न निर्देशन दिइएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए ।

नेपाल भ्रमण बर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनुका साथै प्राकृतिक रुपमा अत्यधिक सुन्दर र संस्कृतिक रुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउने महान अवसरको रुपमा भ्रमण बर्षलाई उपयोग गर्न निगमले विज्ञ सहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्वीटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटन प्रवद्र्धन सम्वन्धी सामग्री प्रसारण गर्नेछ । निगमले गुणस्तरीय सेवा सहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित विक्री कक्ष रातीको ८ः०० सम्म खूल्ला राख्ने भएको छ । काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसंग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने छ ।

भ्रमण वर्ष २०२० लक्षित निगमले थप कार्यक्रमहरु क्रमशः बनाउँदै जान पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया/पर्यटक सहजिकरणका लागि एक उप-समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ । प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध गराइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement