नेकपा स्थायी समितिको निर्णय– एमसीसी के गर्ने ? भन्ने जिम्मा सचिवालयलाई दिने

Advertisement

काठमाडौँ । नेकपाको स्थायी समिति बैठकले पार्टीभित्र विवादको विषय बनेको अमेरिकी परियोजना एमसीसीबारे संसदबाट प्रस्ताव अनुमोदन गर्ने नगर्ने ? भन्ने विषयको टुँगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिएको छ ।

एमसीसीबारे धेरै प्रश्न उठेपछि यसलाई टुँगो लगाउने जिम्मा सचिवालयलाई दिइएको उक्त दलका एक नेता भीम रावलले बताएका छन् । अमेरिकाले प्रदान गर्न लागेको पाँच मिलियन अमेरिकी डलर अनुदानमार्फत नेपालमा प्रसारणलाइन र सडक मर्मतमा खर्च गर्ने योजना बनाइएको छ ।

स्थायी समिति बैठकमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेश गरेका राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरिएको छ । सोही प्रतिवेदनमाथि छलफल गर्ने क्रममा स्थायी समिति सदस्यहरुले एमसीसीबारे कुरा उठाएका थिए । सोही विषयमा विवाद बढेपछि बैठक एक दिन लम्बिएर आइतबार सकिएको हो ।

एमसीसीबारे प्रश्न उठाउनेमा भीम रावल, देव गुरुङ, योगेश भट्टराई, जनार्दन शर्मालगायत छन् । बैठकमा उनीहरुले एमसीसी सम्झौता अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गत आएको आशंका गर्दै यो कुरा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए ।

साथै, बैठकले महासचिव विष्णु पौडेलको सांगठनिक प्रस्तावको प्रस्तावना र अन्य केही बुँदामा परिमार्जन गरेको छ भने विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । रावलका अनुसार वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । स्थायी समितिले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतले अतिक्रमण गरेको निष्कर्ष निकालेको छ ।

सीमा विवादको विषयमा भारतसँग कुटनीतिक तवरमा वार्ता गर्न सरकारलाई आग्रह गर्ने, सीमा क्षेत्रमा नेपालले गर्न लागेका सडक तथा बाँधको निर्माणमा भारतीय पक्षले रोकेको विषयमा पनि समाधान गर्न सरकारलाई आग्रह गर्ने, पछिल्लो समयमा बढेको सडक दुर्घटनामा धेरैको ज्यान गएकोले सडक सुरक्षामा संवेदनशील हुन तथा मृतकका परिवारलाई उचित राहत दिन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको रावलले बताएका छन् ।

Advertisement

Advertisement