बाग्लुङबाट महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । बाग्लुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई प्रस्ताव गरेको छ । बाग्लुङ महोत्सवमा भाग लिन गृह जिल्ला पुगेको ढकाललाई जिल्ला संघले महासंघको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेको हो ।

अधिकाश प्रदेश, जिल्ला तथा नगर उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको उपस्थितीमा बागलुङमा शुरू भएको बागलुङ महोत्सवमा बागलुङ उद्योग बाणिज्य संघले वरिष्ठ उपाध्यक्षका प्रस्ताव गरेपछि ढकालले उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका थिए । त्यसपछि ढकाल महासंघको एसोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

कार्गो व्यवसायबाट व्यवसाय सुरु गरेका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ। ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना आइएमई ग्रुपका अध्यक्ष हुन् ।

व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशील छन् । पश्चिमाञ्चल विकास मंचका अध्यक्ष समेत रहेका ढकाल नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत पनि हुन् ।  सरल स्वाभाव र मिलनसार व्यक्तित्वको छवि बनाएका ढकाल आफुले जिम्मेवारी लिएका कामप्रति गहिरो समर्पण र अभिरुचि राख्छन् । दर्जनौं राष्ट्रिय मानपदवीबाट सम्मानित भएका ढकालको जन्म २०२२ मा बागलुङ १२, अमलाचौरमा भएको थियो ।

महासंघको हालको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकै आधारमा शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुँदैछन् । आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा हालका अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ र किशोर प्रधानले पनि दावी गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement