नेपाललाई सैन्य सहयोग अमेरिकाको भन्दा चीनको दुई गुणाभन्दा बढि

Advertisement

काठमाडौँ । नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट प्राप्त तथ्यांकमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ ।

नेपालले सैन्य सहयोगका रूपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुंगा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।

सुरक्षाविद् गेजा शर्मा वाग्ले नेपाली सेनालाई चीनको सहयोग बढ्दै जानुलाई स्वाभाविक मान्छन् । ‘नेपालका सुरक्षा निकायहरूलाई आर्थिक, प्राविधिक र सैन्य सहयोग गरेर आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्ने शक्ति राष्ट्रहरूको घोषित रणनीति नै छ,’ उनले भने, ‘त्यही कारण हरेक वर्ष उदीयमान शक्ति चीन, अर्को छिमेकी भारत र महाशक्ति अमेरिकाले नेपालका सुरक्षा निकायलाई सहयोग बढाउँदै लगेका छन् । यो नेपालमा भएको उनीहरूको सामरिक प्रतिस्पर्धाको प्रतिविम्ब पनि हो ।’ उनीहरूले सुरक्षा निकायलाई सहयोग गरेर आ–आफ्नो देशको चासो सम्बोधन गर्ने रणनीति अख्तियारी गर्दै आइरहेको वाग्लेको भनाइ छ ।

वाग्लेका अनुसार चीनले ०६२।६३ सालको जनआन्दोलन र राजसंस्था ढलेपछि नेपालको सुरक्षा संयन्त्रमा चासो दिएर सुरक्षा निकायलाई सहयोग गर्ने रणनीति अघि बढाएको छ । ‘प्रारम्भमा चीनले गैरघातक सामग्री सहयोग गर्‍यो । अहिले चाहिँ नेपाली सेनालाई आवश्यक सबै प्रकृतिका सामग्री सहयोग गर्न तयार देखिन्छ,’ उनले भने, ‘भर्खरै भएको चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण र त्यसक्रममा जारी संयुक्त वक्तव्यमा पनि सुरक्षालाई प्राथमिकता दिइएको छ । नेपालमा उसको सुरक्षाको चासो र स्वार्थ दुवै छ ।’

चीनले ०७२ सालमा नेपाललाई करिब ८० करोड रुपियाँ बराबरको मेडिकल सामग्री दिएको थियो । त्यही वर्ष ९७ करोडको मोबाइल फिल्ड अस्पताल र एक अर्ब ३१ करोड रुपियाँको यूएनको शान्ति स्थापनार्थ प्रयोग गर्न एपीसी, टेन्ट र सञ्चारका सामग्री नेपाली सेनाले चीनबाट पायो । ०७४ सालमा एपीसी, ‘चार बाई चार इन्धन’ ट्यांकर र ट्रकहरू सेनाले पायो । जसमा गाडी २०, रेडियो सेट ५१ र वाटर ट्यांकर ३ वटा थिए । त्यसको मूल्य करिब ३ अर्ब ८० करोड थियो । ती सामान सम्झौताको दुई वर्षपछि सन् २०१९ मा चीनबाट नेपाल आइपुगेका थिए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement