श्रममन्त्री यादवले सार्वजनिक गरे ३ महिने कार्यसूची, ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी

Advertisement

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मन्त्री नियुक्त भएको डेढ महिनापछि आगामी ३ महिनामा गरिने २५ बुँदे कार्य सार्वजनिक गरेका छन् । मंसिर ४ गते यादव श्रममन्त्रीमा नियुक्त भएका हुन् ।

मंगलबार एक समारोहका बीच मन्त्री रामेश्वर राय यादवले उक्त कार्यहरु सार्वजनिक गरेका हुन् । चालु आवमा ६० हजार बेरोजगारलाई १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहहरुबाट रोजगार आयोजना सञ्चालन गर्ने मन्त्री यादवले २५ बुँदे कार्यमा समावेश गरेका छन् ।

त्यसैगरी कृषि क्षेत्रमा रहेका श्रमिकहरुको अवस्था पहिचान गरी उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधि एवम् प्रक्रियाको अध्ययन गरिने तथा बालश्रम, व्यवसायजन्य सुरक्षा एवम् स्वास्थ्य, न्यूनतम पारिश्रमिक भुक्तानी लगायतका श्रम ऐन नियमको परिपालना भए÷नभएको बारे १००० वटा उद्योग प्रतिष्ठानको अनुगमन तथा निरक्षण गर्ने मन्त्री यादवले बताए ।

वैदेशिक रोजगार सूचना प्रणालीमा सरोकारवालहरुको आवद्धता बढाउन थप परिमार्जन र परिष्कृत गरिने तथा ३ महिना भित्र ओमानसँग द्विपक्षीय श्रम समझदारी गर्ने मन्त्रालयको ३ महिने कार्य सूचीमा उल्लेख छ ।

आगामी तीन महिनामा १५ हजार रोजगारदाता तथा थप १ लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने मन्त्री यादवद्वारा सार्वजनिक ३ महिने कार्यसूचीमा उल्लेख छ ।







 

Advertisement

Advertisement

Advertisement