सम्पत्ति शुद्धीकरणमा समन्वय गर्न बीमा समितिको निर्देशन-‘जोखिमका क्षेत्रहरु पहिचान हुने’

Advertisement

काठमाडौँ । बीमा समितिले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी बीमा क्षेत्रको क्षेत्रगत कार्ययोजना(२०७६–२०८१) कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त जीवन, निर्जीवन र पुनर्बीमा कम्पनी तथा नेपाल बीमक संघ र जीवन बीमक संघ नेपालका नाममा परिपत्र जारी गरेका हुन् ।

नेपाल सरकारबाट जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्यायोजना(२०७६–२०८१) लागु भइसकेको छ । उक्त राष्ट्रिय रणनीति तथा कार्ययोजनामा बीमा क्षेत्रको लागि तोकिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बीमा समितिले समेत पारित गरेको परिपत्रमा उल्लेख छ ।

कार्ययोजनाको सफल र प्रभावकारी कार्यान्वयनका लागि तोकिएका जिम्मेवार र सहयोगी निकायहरुबाट कार्ययोजना बमोजिम गर्नु पर्ने कार्यक्रमहरु एकापसमा समन्वय गरी निर्धारित अवधि भित्रै सम्पादन गरी आवधिक प्रतिवेदन समितिमा बुझाउने व्यवस्था गर्न परिपत्र मार्फत निर्देशन दिइएको छ ।

यो कार्ययोजनको सफल र प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार र सहयोगी निकायको रुपमा तोकिएका बीमा समिति, बीमकहरु, बीमकका व्यवसायिक संगठन सबैको उत्तिकै भूमिका रहने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए ।

उक्त राष्ट्रिय रणनीति अन्तरगत बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्याङ्कनमा सहयोग पुग्ने, बीमा क्षेत्रमा विभिन्न आयामबाट उत्पन्न हुने जोखिमका क्षेत्रहरु पहिचान हुने, बीमा क्षेत्रलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको माध्यम बनाउनबाट रोक्न सहयोग पुग्ने अध्यक्ष चापागाईँले उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement