'के आधारमा नेप्से १८८१ पुग्यो र तल झर्यो ? अब त्यस्तो हुन्न'

Advertisement

काठमाडौं । धितोपत्र बजारमा नियामक, लगानीकर्ता, मार्केट प्लेयर्सका आ आफ्ना भूमिका छन् । हामीले काम गर्ने भनेको मुलुकको विकास र समृद्धिकै लागि हो । आर्थिक क्रियाकलाप बढ्ने गरि काम गर्ने हो । प्रधानमन्त्रीज्यूको योजना पनि सुखी नेपाली, समृद्ध नेपाल बनाउने भन्ने छ ।
मेरो प्राथमिकता भनेको लगानीकर्ताको हित गर्नु हो । मेरो कार्यकालमा बजारको दिगो विकास हुन्छ र मुलुककै अर्थतन्त्रमा पुँजी बजारले सहयोग गर्छ ।

मेरो पहिलो प्राथमिकता
पुँजी बजारको स्थायीत्व मेरो सबै भन्दा प्राथमिकतमा हुनेछ । म नेपाल राष्ट्र बैंकबाट आएको मान्छे हुँ, त्यहाँ वित्तिय स्थायीत्व भन्ने थियो । अब धितोपत्र बोर्डमा आएपछि पुँजी बजारको स्थायीत्व मेरो पहिलो प्राथमिकता हो ।

पुँजी बजारमा पनि स्थायीत्व चाहिन्छ । ९ सयको नेप्से इन्डेक्स बढेर एकै पटक १८८१ को बिन्दुमा पुग्छ । बढुञ्जेलसम्म त मजै होला, जो १८८१ मा फस्छ नी अनि त्यो इन्डेक्स फेरी ९०० मा आउँदा के होला ? अनि पाँच वर्षसम्म लगानीकर्ताको मनोबल गिर्छ । ९०० को इडेक्स एकै पटक १८८१ मा पुग्छ अनि फेरी ९०० आसपासमा झर्नु पुँजी बजारको स्थायीत्व होइन ।

यो भोलाटालिटी(अस्थिरता) हो । त्यसमो बजारका प्राबिधिक विश्लेषण र आधारभूत विश्लेषण दुबैले काम गरेको देखिएन् । के को आधारमा १८८१ पुग्यो र किन फेरी तल झर्यो ? त्यसकारण स्थायीत्व त्यतिबेला हुन्छ जतिबेला पुँजी बजारमा एक लेभलमा ग्रोथ हुन्छ । बजारमा दुई खाले ‘शक’ हुन्छन् । एउटा हुन्छ नर्मल शक(सामान्य उतारचढाव) अर्काे हुन्छ फोर्सफुल शक(जबरजस्ति उचारचढाव) ।

नर्मल शकमा बजार हरेक हप्ता केहि तल केहि माथी हुने प्रक्रिया हुन्छ । फोर्सफुल शकमा एकै पटक माथि गएर एकै पटक तल आउँछ । म नर्मल शकको पक्षमा छु, फोर्सफुल शक रोक्नुपर्छ भन्ने मेरो अभियान हुनेछ ।

नयाँ इन्स्ट्रुमेन्ट !!
मेरो दोश्रो प्राथमिकता भनेको पुँजी बजारका इन्स्ट्रुमेन्ट सिमित भए, यसको दायरालाई फराकिलो बनाउनुपर्नेछ । पुँजी बजारको दायरालाई फराकिने बनाउने दुई वटा बाटाहरु छन् । त्यो भनेको संस्थागत विकास र प्रडक्टहरुको विकास हो । अहिले हामी पुँजी बजारमा सेयर, म्युचुअल फण्ड र डिबेञ्चरको मात्रै कारोबार गरिरहेका छौं । हाम्रो पुँजी बजार यति ३ वटा इन्स्ट्रुमेन्टमा सिमित भएको छ । दुबईका लगानीकर्तालाई तपाई कति वटा इन्स्ट्रुमेन्टमा लगानी गर्नु हुन्छ ? भनेर सोध्यो भने उसले एक सय भन्दा बढी इन्स्ट्रुमेन्टको नाम लिन्छ । अब हामी पनि नयाँ नयाँ इन्स्ट्रुमेन्ट भित्र्याउने बाटोमा अघि बढ्छौं ।

व्यवसायीकताको विकास
पुँजी बजारमा व्यवसायीकताको विकास मेरो अर्काे प्राथमिकता हो । लगानीकर्तालाइ लगानीको बारेमा जानकारी हुनुपर्यो । नियामकलाई नियमनका बारेमा विस्तृत ज्ञान हुनुपर्छ । संस्थाहरुलाई संस्थाका कुरा थाहा हुनु पर्छ । मार्केट प्लेयरलाई मार्केट प्लेयरका बारेमा पुरै जानकारी हुनुपर्छ । त्यसका लागि पनि मैले काम गर्नुपर्नेछ ।

सूचना प्रविधिको उपयोग
मेरो अर्काे प्राथमिकता भनेको आइटीको सवलीकरण हो । हामीले आइटी एमआइएसमा धेरै कुराको विकास गर्नुपर्ने आवश्यकता देखेका छौं । अबको जमाना नै आइटीको हो । अहिलेसम्म निरिक्षण, सुपरभिजनका सबै काम कागजमा लेखेर राख्ने चलन छ । ति सबै ढड्डामा राख्ने गरिएको छ । अब यसलाई अनलाईनमा ल्याउँछौं । नेपाल राष्ट्र बैंकमा सुभरभाइजरी सिस्टम सफ्टवेयर हालियो । अब बोर्डमा पनि त्यस्तै प्रणाली भित्र्याउँछौं । डकुमेन्टलाई डिजिटाइज गर्ने र प्रक्रियालाई अनलाईन गर्ने काम पनि प्राथमिकतमा हुनेछ ।

कर्पाेरेट गभर्नेन्स
मेरो चौथो प्राथमिकता भनेको कर्पारेट गभर्नेन्स हो । पुँजी बजारमा इन्साइडर ट्रेडिङदेखि सूचना चुहाउने गरिएका घट्ना आउने गरेका छन् । अब यी कामलाई रोक्नुपर्नेछ । इन्साइडर कारोबारका लागि कानुन नै बनाउने तयारी छ । अमेरिकामा आज एक सयमा बेच्न राखिएको सेयर कसैले ११५ मा किन्यो र एक हप्तपछि त्यसको मूल्य २ सय १५ डलरमा पुगेर बेच्यो भने छानबिन हुन्छ । सेयर मूल्य बढ्नु भन्दा अगाडी १५ डलर बढी तिरेर सेयर किन खरिद गर्यो ? भनेर छानविन हुन्छ । उसले कोसँग कुरा गरेको थियो, कम्पनीसँगको सम्बन्ध केलाएर इनसाइडर सूचना लिएको प्रमाणित भयो भने सेयर जफत गरेर फौजदारी मुद्धा लगाएर जेल पठाइन्छ ।

हामी अहिले नै त्यो स्तरमा गएर त कडाई गर्न नसकौला तर केहि न केहि त गर्छाै नै । त्यस बाहेक मौजुदा ऐन कानुनहरुको संसोधन पनि हाम्रा उच्च प्राथमिकतामा हुनेछ ।

डेढ महिनामा कमोडीटी मार्केट
कमोडीटी बजार सम्बन्धी प्रक्रिया पनि चाँडै टुंगो लगाउँछौं । मलाई लाग्छ अबको डेढ महिना भित्र कमोडिटी बजार सम्बन्धी थाँति राखिएको प्रक्रिया टुंगो लगाउँछौं । कि नेपालमा कमोडिटी बजार चाहिन्न भन्नु पर्छ । नत्र एउटालाई दिने होकी पाँच वटैलाई दिने हो ? त्यो अर्कै कुरा हो । तर लाइसेन्स चाँही दिनु पर्छ ।

आइपीओका दुःख
यतिबेला साधारण सेयर(आइपीओ) समेत बिक्न छोडेको अवस्था छ । खास गरि हाइड्रो पावर कम्पनीहरुका कारण त्यस्तो भएको हो । कतिपय कम्पनीको आधार मूल्य नै एक सय भन्दा कम देखिएको छ । अब विद्युत नियमन आयोग गठन भएको छ । जलविद्युत कम्पनीहरुको नियमन पनि हुन्छ ।

ट्रेडर र इन्भेष्टर्स छुट्याउने
हामीले कारोबारी (ट्रेडर्स) र इन्भेन्ष्टर्स(लगानीकर्ता) छुट्याउने काम मेरो उच्च प्राथमिकता भित्र छ ।  मर्चेन्ट बैंकर्सले फण्ड मेनेजमेन्ट र सेक्युरीटीको बिजनेश आफैं गर्छन् । त्यो गलत भयो । फण्ड मेनेजमेन्टका लागि संकलन गरेको पैसा अण्डर राइटिङ गरेको कम्पनीको सेयरमा किनेर बस्छन् । त्यस्तो हुन अब दिन्न ।

संस्थागत लगानीकर्ता
हाम्रो बजारमा व्यक्तिगत लगानीकर्ता धेरै छन् । ७० देखि ८० प्रतिशत संस्थागत लगानीकर्ता भएको देशमा सेयर बजारमा त्यस्तो उतारचढाव युक्त कारोबार नै हुन्न । बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्र्ता चाहिन्छ । विदेशमा बजार स्थिर हुनुको कारण पनि संस्थागत लगानीकर्ता नै हुन् ।

सेक्युरीटी डिलरको काम गर्ने कम्पनी पनि जन्माउनुपर्छ । बजारमा सेयरको माग धेरै बढ्यो भने सेयर सप्लाई गराउन सकिन्छ । माग घट्यो भने खरिद गरिदिन सकिन्छ । त्यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थालई त्यसरी डिलर बनाउन सकिन्छ । बजारको आवश्यकता अनुसार सेयर किन्न र बेच्नका लागि नियामकले उनीहरुलाई निर्देशन दिन सक्छ । जसले बजारमा स्थायित्व कायम गराउँछ ।

रियल सेक्टरलाई कसरी ल्याउने ?
हाम्रो पुँजी बजारमा रियल सेक्टरका कम्पनीहरु आकर्षित भएनन् । त्यसको कारण भनेको मूल्य निर्धारणको गलत प्रणाली नै हो । एनसेल किन सूचिकृत भएन ? अहिलेको मोडल भनेको नेटवर्थको आधार हो । प्रिमियमको मूल्य निर्धारण गर्ने बिधी राम्रो नभएकाले एनसेल जस्ता कम्पनी पुँजी बजारमा आकर्षित नभएका हुन् । अब हामी बुक बिल्डिङको प्रक्रियाबाट मूल्य निर्धारण गराउने तर्फ लाग्छौं ।-बोर्डका नव नियुक्त अध्यक्ष ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको भेटमा व्यक्त गरेको विचार)

Advertisement

Advertisement

Advertisement