अर्थमन्त्रीलाई उद्योग राज्यमन्त्रीले भने-व्यवसायी ज्वाँई हुन्, टर्च बालेर खोज्नु नपरोस्

Advertisement

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योगी व्यवसायी सरकारका ज्वाई भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीलाई ज्वाइँ भएको बताएका हुन् ।

‘उद्योगी व्यवासायीले एक दिन पनि दुःख पाउनु हुँदैन, तपाईहरुलाई हामी आफ्नो ज्वाई जस्तै स्वागत गर्छौ’, उनले भने । अर्थमन्त्री डा. युवराज खतिवडासँगै चेम्बरको कार्यक्रममा सहभागी भएका उद्योग राज्यमन्त्री दुगडले उनै प्रति संकेत गर्दै त्यसो भनेका हुन् ।

उनले आर्थिक अपराध गर्नेहरुलाई आर्थिक सजाय मात्रै हुनुपर्ने र जेल हाल्न नपाइने धारणा पनि राखे ।

‘कुनै पनि आर्थिक अपराधको सजाय पनि आर्थिक दण्ड नै हुनुपर्छ, जेलमै लगेर थुनिदिने हो भने मनोबल यति खस्किन्छ की टर्च लिएर हेर्न जानुस, उद्योगपतिहरु आउँदैन्, लगानी आउँदैन’, राज्यमन्त्री दुगडले भने । देशलाई समृद्ध बनाउन निजी क्षेत्रको मन जित्नुपर्नेमा पनि जोड दिए ।

उनले लगानीकर्ताहरुको मनोबल खस्किएको पनि बताए । ‘किन हाम्रो मनोबल खस्किरहेको छ ? किन नयाँ लगानी आईरहेको छैन ? किन हामी भएको लगानीलाई पनि संकुचित गर्न गईरहेका छौं ?’, उनले आफैं प्रश्न गरे ।
महिला उद्यमीहरुले आफ्नो उद्योगमा ताला लगाउनुपर्ने दिन आएको भन्दै धारणा राख्दा आफु भावुक भएको पनि सुनाए । लगानीकर्ताले आफ्नो उद्योगमा ताला लगाउँछु भन्ने दिन आउनु दुःखद भएको पनि उनले बताए ।

सरकारी संस्थान घाटामा जान दिन्नौं
उनले कुनै पनि सरकारी संस्थान घाटामा जान नदिने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारी संस्थान तथा उद्योगका प्रमुखरुलाई एक महिनाभित्र नाफामा लैजाने प्रस्ता ल्याउन निर्देशन दिएको र त्यस्तो नभए राजीनामा गर्न भनेको पनि स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement