२२ हजार घुस खाने पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । पूर्वाधार विकास कार्यालय बागमती प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । २२ हजार रुपियाँ भ्रष्टाचार गर्ने पुडासैनी विरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की लिनका लागि आएका सेवाग्राहीसँग घुस माग गरेको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले यसअघि पुडासैनीलाई बाइस हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनुसन्धानको सिलसिलामा पिकेबी निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीसँग बार्गेनिङ गरी घुस लिएको पुष्टी भएको छ ।

सेवाग्राहीलाई घुस दिन बाध्य पारी बाइस हजार लिइसकेको अवस्थामा उनी पक्राउ परेकाले बिगो रकम २२ हजार कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement