अब गुजुल्टिएका तारहरु कसैले देख्नुपदैन, शहर चिटिक्कको बन्छः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री ओलीले उपत्यकाका विद्युतीय तार भूमिगत बनाउने परियोजनाको शुभारम्भ गर्दै विकासको नयाँ अध्याय सुरु भएको बताएका छन् । ओलीले त्यसलाई क्रमशः अन्यत्र पनि विस्तार गरिँदै लैजाने सरकारको योजना रहेको समेत सुनाए । यो परियोजना नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको हो ।

प्रधानमन्त्री ओलीले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने दावी पनि गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरलरुपमा प्राप्त गर्न सकिने भन्दै भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ। अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको बताउँदै ओलीले केही मान्छेलाई भने पीर परेको बताए । उनले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’

ओलीले विकास सबैको साझा नारा र कर्तव्य भए पनि कतिपयले त्यसलाई मजाक बनाउने गरेको बताउँदै देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको तर एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको गुनासो गरे ।

आफू प्रधानमन्त्री भएपछि दैनिक ६ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गर्दै ओलीले सरकार तीब्र गतिमा विकास निर्माणका काम अघि बढाउन सक्रिय रहेको बताए । आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पुर्याउने उनको भनाई छ ।

दुई बर्षमा नेपालले विद्युत्समेत निर्यात गर्ने ओलीको भनाई छ । सय बर्षसम्म जम्मा पाँचसय मेगावाट मात्र विद्युत उत्पादन भएकोमा पछिल्लो बर्षमै थप पाँचसय मेगावाट थपिएको बताउँदै उनले केही समयभित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने र निर्यातसमेत गरिने बताए ।

Advertisement

Advertisement

Advertisement