सत्तामा हुँदा ३–४ प्रतिशतको मात्रै आर्थिक वृद्धि गर्नेहरु ८ प्रतिशत हुँदैन भन्दैछन्ः खतिवडा

Advertisement

ललितपुर । अर्थमन्त्री युवराज खतिवडाले सत्तामा हुँदा ३–४ प्रतिशतको मात्रै आर्थिक वृद्धि गर्नेहरुले अहिले सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन भनेर टिप्पणी गर्ने गरेको बताएका छन् ।

हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै सोमबार उनले भने, ‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठुलो बहस चलाइरहनु भएको छ। उहाँहरु पनि सत्तामा हुँदा चार प्रतिशत पनि नपुगेर त्यही अनुभव बोकेर राज्य सञ्चालनबाट बाहिर जानुभएको हो । भन्दाखेरी ६-७ को कुरा गर्नुहुन्छ । बहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ । ३–४ प्रतिशतको कुरै गर्न छाडनुभयो।’

पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता रामशरण महतलाई इङ्गित गर्दै खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको तर्क गरे । सरकारले एकपक्षीय ढंले यी कुरा नराखेको बताउँदै अंक र प्रभावले पनि त्यो कुरा देखाएको बताए । महतसहित केही अर्थशास्त्रीले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य संभव नरहेको बताउँदै आएका छन् ।

खतिवडाले आफू मन्त्री भएपछिको दुई वर्षमा औषतभन्दामाथि उपलब्धि हासिल गर्न सकेको दावी गर्दै आर्थिक वृद्धिमा मात्रै नभएर सुशासन र भ्रष्टाचार निवारणमा समेत औषतभन्दा माथिको उपलब्धि भएको बताए ।

राजश्वसचिव शिशिरकुमार ढुङ्गानाले तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताउँदै केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताए । तालिम केन्द्रको भवन २२ करोड ५२ लाख ३० हजार रुपियाँमा निर्माण सम्पन्न गरिएको हो ।

Advertisement

Advertisement

Advertisement