‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु, १ बर्षमा ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने

Advertisement

काठमाडौं । काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको छ ।

गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा स्थापना गरिएको प्रणाली मंगलबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् । यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट)मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको छ ।

प्रणालीको शुभारम्भ गर्दै मेयर शाक्यले आजबाट ‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु भएको बताए । यो हाम्रा लागि सिकाइ पनि हो । यसबाट प्राप्त भएको परिणाम मुल्याङ्कन गरेर हामी महानगरका सबै वडा र सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुनभरण प्रणाली जडान गर्छौँ–उनले भने । ‘महानगरले अघि बढाएको यो कार्यक्रमबाट प्राकृतिक सन्तुलन कायम गराउन, वातावरणीय सुधारमा उपलब्धी हुने अपेक्षा गरिएको छ’ पानीको समस्यासँग जुधिरहेका सहरबासीले यसको परिणाम महसुस गर्न सक्नुहुनेछ, मेयर शाक्यको भनाइ थियो ।

त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताए । त्यो समस्याबाट सहरबासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको हो, उपप्रमुख खड्गी श्रेष्ठको भनाई थियो ।

‘रिचार्ज काठमाडौं’ कार्यक्रमको नमूना योजना आफ्नै वडाबाट शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दैै वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले यसलाई वडा अन्य ठाउँमा पनि बिस्तार गर्दै लैजाने योजना सुनाए । गोङ्गबु आवास क्षेत्र महानगरको व्यवस्थित योजनाअन्तर्गत तयार भएको बस्ती हो । तैपनि यहाँ पानीलाई जमिनमुनि पठाउने प्रबन्ध त्यति राम्रो छैन । अरु ठाउँमा के होला? वडाध्यक्ष तिवारीले यसलाई सुधार गर्दै लैजानु पर्ने बताए । आवास क्षेत्रमा महानगरको योजना पुगेकोमा हामी उत्साहित छौं, गोङ्गबु आवास क्षेत्र सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले यो प्रणालीलाई दिगो बनाउन समितिले काम गर्ने बताए ।

यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् । दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ ।

त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिइन् । इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।

गहिरा ट्यूबेलबाट पानी निकालेर जीविका चलाउन थालेपछि काठमाडौंको जमिनमा पानीको मात्रा क्रमश घट्दै गएको बिभिन्न समयमा गरिएका पानीको सतह मापन अध्ययनले देखाएका छन् । यहीकारण सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको छ । गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि अवस्थालाई देखाउँछ । अर्कोतिर ढुङ्गेधारा र इनारमा पानी नआएको जनसाधारणका खुल्ला आँखाले देख्न सक्ने अबस्था छ ।

हिउँदमा पानीको चर्को समस्या खेप्ने काठमाडौंले बर्खायाममा भने डुबानको जोखिम व्यहोरिरहेको छ । काठमाडौं डुबानमा पर्नुको मुख्य कारण भनेकै पानी पुनभरणको व्यवस्था बिग्रिदै जानु हो । काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढाकेको अनुमान छ । यो ठाउँबाट पानी जमिनमुनि जान सक्दैन । यही कारण पानी अभावको समस्या र डुबानको समस्या भएको सहरी योजनाकारहरुले बताउँदै आएका छन् ।

सन् १९९० तिर जाइकाले गरेको अध्ययनले काठमाडौँ उपत्यकामा दैनिक डेढ करोड लिटरभन्दा बढी निकालिएमा भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रने खतरा देखाएको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको वितरणको जिम्मा पाएको केयुकेलले २०० मिटर गहिरा करिब ८० वटा डीप बोरिङमार्फत मात्र दैनिक करिब आठ करोड लिटर पानी निकालिरहेको छ ।

यो उपत्यकाको वर्तमान पानीको पुनःभरण (रिचार्ज) को दुई गुणा बढी हो । निजी क्षेत्रले सञ्चालन गरेका खानेपानी सम्बन्धि उद्योगहरुले ठूला मेसिन तथा गहिरो ट््युबबेल प्रयोग गरेर पानीको दोहन गरिरहेका छन् । आधिकारिक तथ्याङ्क नभएपनि उपत्यकामा करीब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ । जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन् । यिनै व्यवसायीहरूबाट उपत्यकावासीले दैनिक करिब ३ करोड रुपियाँको पानी किनेर उपयोग गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement