सर्बहाराका नेताको राजा बन्ने इच्छा, जन्मदिनमा यती समूहका एजेन्ट बोकेर आठराई पुगे ओली

Advertisement

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो । नेकपाको स्थानीय कमिटीले दुई तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए ।

तेह्थुम जानुअघि प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद, मन्त्रीहरू, सचिवालय टिम र उच्च अधिकारीहरूको उपस्थितिमा सरकारी निवास बालुवाटारमा पनि केक काटेका थिए । उनलाई शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायतका मन्त्री तथा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली ०२२ सालमा जन्मस्थान आठराइ (तत्कालिन इवा गाविस–२ तीनसल्ले) छाडेर राजनीतिमा सक्रिय भएका थिए । दुई बर्षपछि ०२४ मा पिता मोहनप्रसाद परिवारसहितै झापा झरे । त्यसपछि ओलीको आठराइ ओहोरदोहर पनि हरायो ।

जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित
नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ । तर, ओलीको जन्म दिनलाई उत्सवकै रुपमा मनाउन पार्टी नेतृत्वमै रहेको गाउँपालिकाले सार्वजनिक बिदा मात्र दिएन, केन्द्रदेखि स्थानीय तहसम्मले तामझाममा राज्य कोष लाखौं रकम समेत खर्च गरे ।

मन्त्रीहरू हेलिकप्टर चढेर र तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको जन्म घर पुगे । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितमा भनिएको छ ।

जन्मोत्वको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो । खुवाएको हो । प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा २ सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए ।

ओलीका स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यको निजी व्यबस्थापन र संयोजनमा उपहार वितरण र भोज खुवाइएको हो । ‘उपहार र खाना खुवाउने खर्चको व्यबस्थापन म्याडम राधिका शाक्यले निजी खर्चबाट गर्नुभएको हो’, भण्डारीले भने, ‘सडक सिलान्याशको खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निवासको जन्म दिवसको व्यबस्थापन नेकपाको स्थानीय पार्टी कमिटीले गरेको छ ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement