सेयरमा अस्वाभाविक ढंगले उच्चदरको वृद्धि, नेप्से ५० अंकले बढ्यो, चार अर्बभन्दा बढिको कारोबार

Advertisement

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५० दशमलव ९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने चार अर्ब १५ करोड रुपियाँको सेयर कारोबार भएको छ ।

धेरैले यसलाई सेयर बजारको अस्वाभाविक वृद्धि भनेका छन् भने कतिपयले अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमनको तयारीको प्रभावको रुपमा समेत लिएका छन् । राष्ट्रियसभाको सदस्य पदमा अर्थमन्त्री खतिवडाको म्याद थप नहुने संकेतसँगै उनको मन्त्री पद पनि धरापमा परेको अडकल गरिएको छ ।

कतिपय विश्लेषकले भने लामो समयसम्म विशेषगरी बाणिज्य बैंकहरुको सेयर अण्डर प्राइसमा रहेकाले अहिले बढ्नु स्वाभाविक भएको तर्क गर्छन भने कतिपयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नेतृत्वबाटै सुनियोजितरुपमा सेयर बजारमा एकाएक कृतिक वृद्धि गराउने र हजारौं सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पार्ने काम भएको बताउँछन् ।

आजको कारोबारमा कुल १८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ८६ प्रतिशतले बढ्दा नेप्सेमा उच्च वृद्धि हुन पुगेको हो । त्यस्तै, जीवन बीमा समूहको सुचक छ दशमलव १२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सुचक चार दशमलव ६३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, होटल र म्युचुअल फण्डको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र नेपाल बैंक छन् । नेपाल लाइफको कारोबार झण्डै २२ करोड छ भने शिवमको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख रुपियाँको वृद्धि छ । अधिकांश कम्पनीका लगानीकर्ताले आकर्षक कमाई गर्दा रादि विद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा घाटा सहेका छन् । त्यस्तै, बोटलर्स नेपालको सेयर चार सय रुपियाँले घटेको छ ।

Advertisement

Advertisement

Advertisement