‘नेपालका लागि नेपाली अभियान’बाट निष्कासित ज्ञानेन्द्र शाहीलाई रमेश खरेलले पनि पत्याएनन्

Advertisement

काठमाडौं । भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर बिहीबार घोषणा गरिने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान गठन नहुँदै विवादमा परेको छ ।

अभियानमा ‘नेपालका लागि नेपाली अभियान’बाट निष्कासित ज्ञानेन्द्र शाहीलाई पनि राखिएपछि पूर्वडीआईजी रमेश खरेलको समूहले घोषणासभा बहिस्कार गरेको छ । बिहीबार विशेष कार्यक्रमसहित यो अभियान घोषणाको तयारी गरिएको थियो । खरेलको समूहले शाहीलाई अभियानमा नराख्न आग्रह गर्दागदै राखिएपछि बहिस्कार गरेको हो ।

खरेलले विशेष कारण आफूहरु ‘हाम्रो नेपाल, हामी नेपाली’मा आवद्ध हुन नसकेको सार्वजनिक प्रतिक्रिया दिएका छन् । ‘नेपालका लागि नेपाली अभियान’मा रहँदा रुखो बोली र व्यवहारका कारण आलोचित हुन थालेपछि शाहीलाई निष्काशन गरिएको थियो । उनले अहिले आफै एकलरुपमा भ्रष्टाचार विरोध अभियान चलाइरहेका छन् । वैचारिक अडानमा बस्न नसकेको आरोपसमेत खेप्दै आएका शाहीका गतिविधि संकास्पदसमेत रहेको कतिपयको भनाई छ ।

नेपाल प्रहरीमा रहँदा सक्षम र कुशल क्षमता देखाउन सफल भएर लोकप्रिय बनेका खरेलको समूहमा पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला, राजकुमार यादवलगायतका व्यक्तिहरु रहेका छन् ।

Advertisement

Advertisement