कुवेतमा बालुवाले पुरेर ज्यान गुमाएका परिवार र घाइतेलाई एनआरएनएले जनही एक लाख सहयोग गर्ने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कुवेतमा काम गर्दैगर्दा बालुवाले पुरिएर ज्यान गुमाउनेका परिवार घाइतेहरुलाई जनही एक लाख रुपियाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले उक्त घटनाका मृतक र घाइतेहरुलाई उचित क्षतिपूर्ति दिन र मृतकको शवहरु यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गर्दै सचिवालयका पदाधिकारीले उक्त सहयोग गर्न लागेका छन् ।

बैठकले संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गासम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको बताएको छ । विश्वभरीका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको भन्दै संघले यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ ।

बैठकले यस कार्यकालका लागि गठन हुने विभिन्न समितिहरुलाई १५ दिनभित्र पूर्णता दिने निर्णय गर्नुका साथै दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसंग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिकरुपमा आबद्ध राखी मातृभूमीप्रति जिम्मेवारी बोध गराउन एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउने एक बेग्लै समिति पनि बनाउने निर्णय गरिएको छ ।

एनआरएनएले नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माणको सहयोगको लागि मार्च ८ मा काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै गैरआवासीय नेपालीलाई अनुरोध गर्नुका साथै विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल गरेको छ ।

संघले गोरखाको बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख रुपियाँ बराबरको जस्तापाता उपलब्ध गराई निर्माण कार्य अघि बढाउन लागिएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement