युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध

Advertisement

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड–नाइन्टीनको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् । केहीबेर अघि टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन ।

उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो । प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए । सामान घरमै पुर्‍याउन भने रोकिने छैन ।

इटलीले के गर्दैछ ?
टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताए । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनको विश्वास छ।

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । त्यहाँ १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना सङ्क्रमितहरू सघन उपचार कक्षमा भर्ना गरिएका छन् । उनले इरान र इटलीले अहिले बेहोरिरहेको सङ्कटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए ।

डब्ल्यूएचओले के भन्यो ?
यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको छ । डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताए । उनले त्यसलाई सङ्क्रमणको खतरनाक तह भन्दै त्यसले आफूलाई गम्भीर रूपले चिन्तित तुल्याएको उल्लेख गरे । विश्वव्यापी भन्नुको अर्थ रोग एकै समयमा विश्वभरी थुप्रै देशहरूमा फैलिनु हो ।

डा. टेड्रोसले सङ्क्रमणलाई विश्वव्यापी भनेर डब्ल्युएचओले देशहरूलाई गर्नुपर्ने कामबारे दिएको सुझाव परिवर्तन गर्न नलागेको बताए । उनले सरकारहरूलाई प्रकोप नियन्त्रणका निम्ति तत्काल र आक्रामक कदम चाल्न आग्रह गरे । उनले भने, ‘यो भाइरसलाई नियन्त्रण र दमन गर्न सकिन्छ भन्ने कुरा कैयौँ देशहरूले देखाइसकेका छन् ।’ (-बीबीसी नेपालीबाट)

Advertisement

Advertisement

Advertisement