सांसदले कोरोना भाइरसको बीमा गरौं भन्दा अर्थमन्त्रीले टेरेनन्, किन ?

Advertisement

काठमाडौं । मंगलबार बीमा विधेयकबारे छलफल गर्न बसेको अर्थ समितिको बैठकमा सांसदहरुले कोरोना भाइरसको बीमा गरौं भन्ने प्रस्ताव राखे ।

पर्वतका सांसद पदम गिरीले कोरोना भाइरसको संक्रमण विरुद्ध छुट्टै बीमा पोलिसी ल्याउन बीमा समितिले अग्रसरता देखाउनुपर्ने धारणा राखे । ‘कोरानो भाइरसको संक्रमण नेपाल आउनु भन्दा अगावै त्यसको जोखिम वहन गर्ने बीमा पोलिसी बनाऔं ।’, सांसद गिरीले भने ।

गिरीको धारणालाई सहयोग पुग्ने गरि अर्थ समिति सभापति कृष्ण दाहालले पनि तत्कालै बीमा समितिले निर्देशन दिएर बीमा कम्पनीहरुलाई त्यस्तो पोलिसी बनाउन लगाउनुपर्ने बताए । उनले बीमाको कामै जोखिम वहन गर्ने भएकाले त्यस्तो पोलिसी बनाउन समितिले भूमिका खेल्नुपर्ने धारणा राखे ।

तर अर्थमन्त्री डा. युवराज खतिवडाले भने अब कोरोनो भाइरसको बीमा गराउन नसकिने धारणा राखे । उनले स्वस्थ व्यक्तिको बीमा गर्न सकिने तर संक्रमण फैलिसकेपछि भने बीमा गर्न नमिल्ने स्पष्ट पारे । ‘स्वस्थ व्यक्तिको बीमा गराउन सकिन्छ, महामारीको पनि बीमा हुन्छ तर महामारी फैलिसकेपछि भने बीमा गराउन सकिन्न, यो पनि नाफामा आधारित सामाजिक सुरक्षाको व्यवसाय हो’, अर्थमन्त्री डा. खतिवडाले भने ।

उनले कोरानोको महामारी विश्वव्यापी रुपमा फैलिसकेको वर्तमान अवस्थामा त्यसको जोखिम बोक्ने गरि बीमा पोलिसी बनाउन नसकिने स्पष्ट पारे । यद्यपी बीमा कम्पनीहरुले घातक रोगको पोलिसी बेच्दा यस्ता रोगलाई पनि समेट्ने गरि भविष्यमा पोलिसी बनाउन सकिने तर्फ भने समितिले ध्यान दिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement