वीर र पाटन अस्पतालमा एकै दिन तीन जनाको शंकास्पद मृत्यु, कोरोनाको कारण हुनसक्ने आशंका

Advertisement

काठमाडौं । वीर अस्पताल र पाटन अस्पतालमा सोमबार तीन जनाको शंकास्पद मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड १९)को आशंकामा भर्ना भएका एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

वीर अस्पतालका अनुसार करिब ३४ वर्षीय पुरुष र ५० बर्षीया महिलाको सोमबार मृत्यु भएको हो । दुवै कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएका थिए । मृत्यु भएका पुरुष भारतबाट केही दिनअघि काठमाडौंको सन्तुंगलमा आएर बसेका थिए । उनी आइतबार मात्रै वीर अस्पताल भर्ना भएका हुन ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको भनाई उदृत गर्दै अन्नपूर्ण पोष्ट डटकमले मृतकको स्वाब परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको समाचार प्रकाशित गरेको छ । उनीहरुको रिपोर्ट आइसकेको छैन्।

त्यस्तै कोरोनाको आशंका गरिएकी महिला ज्वरो आएकाले अस्पताल भर्ना भएको र उनलाई सास फेर्न निकै कठिन भएको जनाइएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यी दुई घटनाबाहेक पाटन अस्पतालमा पनि एक अर्का बिरामीको पनि शंकास्पद मृत्यु भएको छ । सोमबार बिहान मात्रै पाटन अस्पतालको आइसीयूमा राखिएका धादिङका ३५ वर्षीय युवाको मृत्यु भएको हो । उनको कोरोनाको संक्रमण भएको आशंकामा नमूना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement