एकै दिन तीन नयाँ कोरोना संक्रमित नेपाली भेटिए

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन तीन नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित नेपाली भेटिएको जनाएको छ । संक्रमित सबै सुदूरपश्चिमको गाउँका रहेका छन् ।

मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ बर्षीय पुरुष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चपुरका ४१ बर्षीय पुरुष र कैलालीकी ३४ बर्षीय एक महिना कोभिड १९ पोजेटिभ देखिएको हो । कोरोना भाइरस देखिएकी महिला यसअघि भेटिएका सोही भाइरस संक्रमित पुरुषको आफन्त भएको जनाइएको छ ।

साथै, मन्त्रालयले यो सँगै पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्कोमा कोरोना संक्रमण भएको पुष्टि भएको पनि जनाएको छ । यसअघि विदेशबाट नेपाल आएका व्यक्तिमा मात्र कोरोना पुष्टि भएको थियो।

दुवईबाट भारत हुँदै नेपाल फर्किएका कैलाली धनगढीका ३४ वर्षीय पुरुष कोरोना आशंकामा चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना भएका थिए। उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। शनिबार उनकै परिवारकी आफन्त ३४ वर्षकै महिलामा कोरोना सरेको पुष्टि भएको हो।

शनिबार मात्र सेती प्रादेशिक अस्पतालमा तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत् जानकारी गराएको छ।

Advertisement

Advertisement