नेपालमा कोरोनाको त्रासः विदेशबाट आएका नै मुख्य चुनौति

Advertisement

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरू ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यान्न थप तीनजनामा संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये दुई जना भारतबाट स्थल मार्ग हुँदै आएका र एक जना विदेशबाट आउनेबाटै संक्रमित भएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार १ मार्च (२८ फागुन)यता २२ मार्च (९ चैत)सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । त्यसमध्ये ८० हजार ५ सय ४३ जना नेपाली छन् भने ३५ हजार २३ जना विदेशी यात्रु छन् ।

यस्तै, भारतसँग जोडिएका सीमा नाका हुँदै स्थल मार्गबाट लाखौं नेपाली स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय उडान हुँदै आएका केही नेपालीबाहेकको ठेगाना भने अध्यागमनसँग छैन । विभागका महानिर्देशक रमेशकुमार केसीले यसबीचमा विदेशबाट आएकाहरूको तथ्यांक भए पनि धेरैको यकिन ठेगाना विभागसँग नरहेको बताए ।

‘कुन जिल्लाका कति आए भनेर पासपोर्ट भेरिफाई गरेर हेर्नुपर्छ, अहिलेसम्म रिपोर्ट पोजेटिभ देखिएका फ्लाइटबाट आएकाको मात्रै ठेगाना भेरिफाई गरेका छौं, बाँकीको छैन, आवश्यक परे खोज्छौं,’ विभागका महानिर्देशक केसीले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । ‘मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्, यस अवधिमा आउने विदेशीको संख्या ३५ हजार २३ छ, अन्य सबै नेपाली छन्,’ आचार्यले भने ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा ९ चैतमा रोक लगाएयता अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोही पनि नेपाली तथा विदेशी नेपाल आएका छैनन् । कोरोना संक्रमण (कोभिड–१९)को सन्त्रास विश्वभर फैलिँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । तर, नेपालमा रहेका विदेशी भने उनीहरूकै देशको तयारीअनुसार विमान चार्टर गरेर स्वदेश फर्किएका छन् ।

नेपालमा हालसम्म नौ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिनेहरू सबै विदेशबाट आएका नेपालीहरू नै हुन् । सरकारले विदेशबाट आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराउन र क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ । यस्तै भारतीय सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई समेत १४ दिनको अनिवार्य क्वारेन्टाइन बसाइपछि मात्रै स्वदेश आउन दिने सरकारी निर्णय छ ।

पछिल्लो समय शनिबार मात्रै भारतबाट आएका कैलाली र कञ्चनपुरका एक–एक जनामा संक्रमण पुष्टि भएको हो । अर्का संक्रमित भने पहिले विदेशबाट आएकाकै आफन्त हुन् । अघिल्लो साताको शनिबारसमेत बेल्जियमबाट ४ चैतमा नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो । उनी कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

नेपालमा कोरोनाको पहिलो संक्रमण गत पुसमा नै देखिएको थियो । पहिलो संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै, दोस्रो संक्रमित १९ वर्षीया युवती पनि उपचारकै क्रममा छिन् । उनीसमेत ४ चैतमा नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमान हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट आएकी उनमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

यस्तै, तेस्रो संक्रमित व्यक्ति धादिङका हुन् । उनी दुबईबाट नेपाल आएका थिए । चौथो संक्रमितसमेत दुबईबाटै आएका थिए । धादिङ घर भएका ३४ वर्षीय उनी ६ चैतमा दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका थिए । उनी ७ चैतमा भारतीय विमान चढेर काठमाडौं उत्रिएका थिए भने ८ चैतमा बुद्ध एयर हुँदै नेपालगन्ज पुगेका थिए । त्यहाँबाट उनी सार्वजनिक बस चढेर धनगढी गएका थिए ।

यसैगरी, पाँचौं संक्रमित बागलुङकी किशोरी हुन् । उनी बेल्जियमबाट आएकी थिइन् । छैटौं संक्रमित भने चौथो संक्रमितका आफन्त हुन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement