भारतबाट १७३ मालबाहक गाडी भित्रिए, अत्यावश्यक सामग्री पठाउन चीनले तातोपानी नाका खोल्ने

Advertisement

जनकपुरधाम, मेलम्ची । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको घिमिरेले बताए । त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ ।

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पुर्याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ ।

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरू भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरूलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच दिल्लीको निजामुद्दीनमा हालै सम्पन्न धार्मिक सभामा सहभागी भएका रोतहटको क्वारेन्टाइनमा रहेको १४ र वाराको क्वारेन्टाइनमा रहेका १० जना स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको घिमिरेले बताए । यो । प्रदेश नं २ मा अहिलेसम्म ११९ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा १०३ को रिपोर्ट नेगेटिभ आएको र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश नं २ मा ९३६ क्वारेन्टाइनमा, एक हजार २१३ जना होम क्वारेन्टाइनमा र २२ जना आइसोलेशनमा छन् ।

त्यसैगरी, चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको र आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिने जानकारी दिए ।

तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको जानकारी पाएको बताए । कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

Advertisement

Advertisement

Advertisement