त्रिशक्ति क्लबले मातृ नेपाल अपाङ्ग संस्थालाई हस्तान्तरण गर्यो राहत सामग्री

Advertisement

काठमाडौं । त्रिशक्ति क्लबले तारकेश्वर नगरपालिका वडा–८ जीतपुरफेँदीमा अवस्थित मातृ नेपाल अपाङ्ग संस्थालाइ राहत उपलब्ध गराएको छ । पिताम्बर मुरारका, सुदिप समद्दार तथा अन्य दाताहरूको सहयोगमा त्रिशक्ति क्लब परिवारले करिब ५० जनालाई २० दिनलाई पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरसको यो महामारीमा उक्त संस्थामा रहेका बालबालिकालाई दैनिक खाद्यान्न अभाव हुन लागेको क्लबले जानकारी पाएसँगै सो सहयोग उपलब्ध गराएको हो । दाताहरूको सहयोगमा बालगृहमा बसोबास गर्दै आएका बालबालिकालाई कुनै अप्ठ्यारो परिस्थिति नआओस् भन्नका लागि उक्त राहत उपलब्ध गराइएको त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले बताए ।

‘हामीले दाताहरूलाई सहयोग गर्न अनुरोध गयौं,’ उनले भने ‘उहाँहरूको सहयोगमा बालगृहका रहेका बालबालिकालाई कम्तीमा २० दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराएका हौं ।’ गत आइतबार क्लबले काठमाडौं महानगरपालिका वडा नंं– ५ मा दैनिक ज्याला मजदुरी गर्ने १ सय १५ परिवारलाई करिब १० दिनलाई पुग्ने खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । वडाले राहत वितरण गर्न छुटाएका अति विपन्न परिवारको पहिचान गरेर क्लबले राहत वितरण गरेको हो ।

‘क्लबले अति निम्न वर्गहरूको पहिचान गरी राहत वितरण गरेको हो,’ अध्यक्ष खड्गीले भने–‘बाल गृहबाट बालबालिकालाई खुवाउने खाद्यान्न सकिएको गुनासो आएपछि क्लबले उक्त स्थानमा राहत लिएर पुगेको हो ।’ अभिभावक गुमाएका ५० जना बालबालिकालाई उक्त संस्थाले संरक्षण गर्दै आएको छ । क्लबले यसअघि पनि विभिन्न समयमा उक्त बालगृहलाई सहयोग प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement