पर्यटन उद्योग जोगाउने सुत्रः आन्तरिक पर्यटकलाई आयकरमा छुट

Advertisement

काठमाडौँ । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो ।

त्यसका लागि घुम्न निस्कनेको आत्मविश्वास जगाउन पनि घुमघाममा वार्षिक ५० हजार खर्च गर्नेलाई बिल बुझाएको आधारमा आयकर छुट दिनुपर्ने सुझाव बोर्डले दिएको छ । यसो हुँदा सरकारले सामान्य आम्दानी गुमाउँदा पनि अर्थतन्त्रमा ५३ अर्बभन्दा बढीको योगदान पुग्ने बोर्डको हिसाब छ ।

बोर्डका अनुसार देशभर करिब ७० लाख ८७ हजार जना रोजगार रहेकामा वार्षिक १८ लाख मात्र घुम्न निस्कँदा वार्षिक ५३ अर्ब ६४ करोड रुपियाँ अर्थतन्त्रमा योगदान हुने देखिन्छ । सो सङ्ख्या बराबरलाई आयकर छुट दिँदा सरकारलाई तीन अर्ब ५० करोड रुपियाँ मात्र नोक्सान हुनसक्ने बोर्डको हिसाब छ । यद्यपि पर्यटकीय गतिविधिका आधारमा प्राप्त हुने मूल्य अभिवृद्धि करलगायतका आम्दानीले सरकारको वास्तविक नोक्सानी केवल ५३ करोड मात्र हुने देखिएको बोर्डले जनाएको छ । यसका लागि पर्यटन बिदा भने अनिवार्य गरिनुपर्ने बोर्डको सुझाव छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement