जग्गा बाँझो नराखी खेती गरे सुविधा, राखे सामुहिक खेती गर्न अरुलाई दिइने

Advertisement

चितवन । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिए । उनले भने, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँछौँ । खेती नगरेमा स्थानीयवासीलाई सामूहिक खेती गर्न उत्प्रेरित गर्छौँ ।” वडाध्यक्षहरुमार्फत बाँझो जमिनको तथ्याङ्क लिइने भन्दै उनले छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गरी व्यवस्थापनका बारेमा योजना तयार गरिने जानकारी दिए ।

नगरपालिकाले आफ्नो क्षेत्रलाई कृषिको नमूना क्षेत्र बनाउन सिँचाइका लागि बोरिङ खन्ने काम गरिरहेको छ । पौडेलले सिँचाइ, बीउ, मल र प्राविधिक सहयोग गरेर बाँझो जग्गा हराभरा बनाइ उत्पादन बढाउने आफ्नो लक्ष्य रहेको बताए । जुन ठाउँमा जे फल्छ, त्यसैलाई प्राथमिकता दिइने उनको भनार्इ छ । नगरपालिकाले कृषि फार्म, पशुपालनजस्ता कार्यमा अनुदान दिँदै आएको छ । नेपालकै नमूना नगर बनाउन बाँझो जमिन राखेर सम्भव नहुने नगरप्रमुख पौडेलको भनाइ छ । उहाँका अनुसार देशभरमै सबैभन्दा बढी दूध उत्पादन हुने नगर गैँडाकोट हो ।

गैँडाकोट नगरपालिका–४ ले वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान थालनी गरेको छ । गैँडाकोट वडा नं ४ को खानेपानीट्याङ्की पछाडि जयश्री खोला किनारसँगै जोडिएको करिब तीन बिघा प्लटिङमा गैँडाकोट नगरपालिका वडा नं ४ ले ट्र्याक्टर लगाएको हो । घडेरीका लागि व्यापारीले व्यवस्थित बाटो, बत्तीसहित बिक्रीका लागि टुक्रा गराएर राखेको जमिनमा गैँडाकोट नगरपालिका–४ ले अन्न फलाउने उद्देश्यसहित ट्र्याक्टर लगाएको जनाएको छ । वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाभित्र रहेका खाली जमिनदेखि प्लटिङ जो खेतीयोग्य छन्, सबै जोत्ने र कृषि उत्पादनमा प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको बताउनुभयो । अन्य वडाले पनि बाँझो जमिनको तथ्याङ्क आन्तरिकरूपमा लिने काम गरिरहेको जनाएका छन् । गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन् । हाल नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement