कोरोना बीमा स्थगित, पुनर्बीमा खोजेर पुनः सुचारु गरिने

Advertisement

काठमाडौं । बीमा समितिले महत्वकांक्षी योजनाका रुपमा अघि सारेको कोरोना बीमा स्थगित भएको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था निर्जिवन बीमक संघ र बीमा समितिबीच केहि समयका लागि कोरोना बीमा स्थगित गर्ने निष्कर्ष निकालिएको हो ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीले बीमा कम्पनीहरुको नेटवर्थ बराबरको जोखिम पुगेकाले तत्कालका लागि पोलिसी बेच्न बन्द गरिएको बताए । औषतमा एक अर्बको नेटवर्थ भएका बीमा कम्पनीहरुले एक अर्ब बराबरको कोरोना बीमाको दायित्व पुगिसकेको पनि बताए । सरकारले केहि जोखिम बोकिदिने गरि कोरोना बीमालाई अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

गत बैशाख ४ गते बीमा समितिले बीमा लेख बिक्री गर्न अनुमति दिएपछि २० वटा बीमा कम्पनीले वैशाख ७ गतेबाट कोभिड बीमा लेख बिक्रि गर्दै आएका थिए । करिब डेढ महिनाको अवधिमा ३ लाखले कोभिड १९ बीमा लेख खरिद गरेका छन् ।

सो पोलिसीबाट १६ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रिमियम संकलन भएको छ । सरकारले बजेट मार्फत सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै, कोरोना बीमाको ५० प्रतिशत प्रिमियम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमाको व्यवस्था गरेर कोरोना बीमा पुनः सुचारु गरिने बताए ।

युनाइटेड इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले पनि नयाँ मोडालिटी बनाएर मात्रै कोरोना बीमा पुनः आरम्भ गरिने बताए । ‘शुक्रबारदेखि लागु हुने गरि नयाँ पोलिसी बिक्रि नगर्ने सहमति भएको छ, पुनर्बीमाको खोजी गरेर पुनः सुचारु गर्छाै’, युनाइटेड इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले कर्पाेरेट नेपालसँग भने ।

हाल नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जिवन बीमा कम्पनीहरुले ४।४ प्रतिशत जोखिम बोकेर कोरोना बीमा पोलिसी बेचिँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement