लकडाउनपछि आर्थिक संकट, संकट झेल्न नसकेपछि आत्महत्या, दैनिक आत्महत्या दर १९ पुग्यो

Advertisement

काठमाडौँ । गत मंगलबार बिहान १० बजेतिरको कुरा हो । काठमाडौं–भक्तपुरको साँध छुट्याएर बग्ने मनोहरा खोलामा एक युवकले हामफाले । प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्यो तर रातभरको दर्के झरीका कारण उर्लेको मनोहराले ती युवकलाई एकैछिनमा बगायो ।

बुधबार दिउँसो मात्रै प्रहरीले हामफाल्नेको शव फेला पार्‍यो । उर्लंदो खोलामा हामफाल्ने युवक रामेछापको मन्थली घर भई काठमाडौं, जडीबुटी बस्ने ३४ वर्षीय सानुबहादुर कार्की रहेको प्रहरीले पत्ता लगायो ।

सानुबहादुर आफैंलाई सिध्याउन किन तम्सिए ? महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष बस्नेतले आत्महत्या पुष्टि भए पनि त्यसका कारण यकिन भइनसकेको बताए । तर परिवारका अनुसार दुई वर्षअघि किस्ताबन्दीमा गाडी किनेका सानु पछिल्ला दिन कसरी गाडीको किस्ता तिर्ने भन्ने तनावमा थिए । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार लकडाउनसँगै गाडी थन्किएपछि उनको आम्दानीको बाटो सुकेको थियो । त्यही बेला गाडी बेच्ने कम्पनीले उनलाई चैतयताको सबै किस्ता तिर्न दबाब दिइरहेको थियो । कार्कीको घटना अनुसन्धानमा जुटेका एक प्रहरीले आर्थिक संकटकै कारण तनावमा आएर आत्महत्या गरेको बताए ।

कोरोना संक्रमण बढ्दै जाँदा काम गरिखाने वर्ग आर्थिक संकटको चपेटामा मात्रै परेको छैन, भोलि के हुने हो भन्ने भयमा पनि पिरोलिएको छ । अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी कामबाट निकालिए । गरिखाने बाटो बन्द भएपछिको तनाव झेल्न नसकेर विक्षिप्त बनेका सिद्धार्थले जेठ २६ मा आफ्नै शरीरमा आगो झोसे । प्रत्यक्षदर्शीले तत्कालै आगो निभाएर उनलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा त पुर्‍याए तर उनलाई बचाउन सकेनन् ।

कोरोना संक्रमणकै कारण रोजीरोटी खोसिएपछि भारतका विभिन्न सहरबाट कैयौं दिनको कष्टप्रद यात्रा छिचोल्दै स्वदेश फर्केकाहरूले पनि सानु र सिद्धार्थले जस्तो आफैंलाई सिध्याउने बाटो रोजेका घटना सार्वजनिक भइरहेका छन् । असार ८ मा बझाङको छबिस पाथीभेरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले क्वारेन्टाइनभित्रै आत्महत्या गरे । भारतको बैंग्लोरबाट असार ६ मा फर्केका धामीले किन आत्महत्या गरे भन्ने खुलिसकेको छैन । तर उनका परिवारका सदस्यका अनुसार रोजगारी गुमेको र परिवार कसरी पाल्ने भन्ने तोडले उनी छटपटाइरहेका थिए ।

गुल्मीको छत्रकोट गाउँपालिकामा जेठ १७ गते यस्तै अप्रिय घटना भयो । भारतको दिल्लीबाट कैयौं दिनको कष्टप्रद यात्रापछि भैरहवा नाका हुँदै गाउँ फर्केका चन्द्रबहादुर परियार क्वारेन्टाइनमा बसेकै दिन आफूलाई सिध्याउने अप्रिय निर्णयमा पुगे । पिसाब फेर्न भन्दै स्कुलछेवैको जंगलमा छिरेका उनी फर्केर आएनन् । क्वारेन्टाइन रहेको वडा ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार त्यतिबेला क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य जाँच चलिरहेको थियो । धेरै बेरसम्म पनि नफर्केपछि उनको खोजी सुरु भयो ।

नजिकैको दबदबेको रूखमा कटनको गम्छा च्यातेर पासो लगाई उनले प्राण उडाइसकेका रहेछन् । वडाध्यक्ष न्यौपानले चार छोराका बाबु चन्द्रले आफैंलाई सिध्याउने अप्रिय निर्णय किन लिए कसैले भेउ नपाएको बताए ।

लम्बिँदो लकडाउन, बढ्दो संक्रमण र यसबाट सिर्जित संकटका कारण आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आत्महत्याका कारण यही हो भन्नेबारे कुनै सरकारी अध्ययन सार्वजनिक नभए पनि आत्महत्याको बढ्दो संख्याका पछाडि लकडाउन र जारी कोरोना संक्रमण जिम्मेवार रहेको बुझ्न गाह्रो पर्दैन ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांक हेर्ने हो भने लकडाउन लम्बिँदै जाँदा आत्महत्या गर्नेको दरमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७६।७७ को सुरुवाती ८ महिनामा ३ हजार ५ सय २४ जना अर्थात् औसतमा दैनिक १४ जनाले आत्महत्या गरेको देखिन्छ । लकडाउनको सुरुवाती ६१ दिन (चैत १० देखि जेठ १० सम्म)मा ९ सय ६३ अर्थात् औसत दैनिक १६ जनाले आत्महत्या गरेका थिए । जेठ ११ यताको २८ दिनमा ५ सय ३५ अर्थात् दैनिक १९ जनाले आत्महत्या गरेको देखिन्छ । यो तथ्यांकले सामान्य अवस्थामा भन्दा पछिल्ला दिन औसतमा दैनिक ५ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement