अतिक्रमित कालापानी क्षेत्रमा खटिन नेपाली सेनाले तयारी थाल्यो

Advertisement

काठमाडौँ, दार्चुला । नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ । दार्चुलास्थित नेपाली भूमिमा सडक खनेपछि सेनाले अपि–नाम्पा सुरक्षार्थ खटिने गरी गृहकार्य थालेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले आदेश दिए आफूहरू त्यस क्षेत्रमा परिचालन हुन तयार रहेको बताए ।

‘राष्ट्रिय निकुञ्जलगायत क्षेत्रको सुरक्षामा अहिले पनि हामी तैनाथ छौं, सरकारले आदेश दिए चीन र भारतसँग सीमा जोडिएको अपि–नाम्पा संरक्षित क्षेत्र सुरक्षामा पनि खटिन तयार छौं,’ पाण्डेले भने, ‘यदि त्यस क्षेत्रमा सेनाको टोलीलाई परिचालन गर्न सकिए सीमा सुरक्षादेखि जंगललगायत प्राकृतिक स्रोतसाधन र वन्यजन्तु तस्करी नियन्त्रणमा मद्दत पुग्ने हाम्रो पनि धारणा हो ।’

पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले सीमा अतिक्रमण नियन्त्रण तथा सीमावर्ती क्षेत्रको संरक्षित भूभाग रेखदेख तथा अन्य सुरक्षा निकायको ‘ब्याकअप’ मा सैनिक शक्ति कसरी परिचालन गर्ने भन्नेमा तत्काल राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर निर्णय लिनुपर्ने बताए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement