स्टक ब्रोकरहरुले अब चेक लेनदेन नगर्ने, विद्युतीय भुक्तानी प्रणालीमा अनिवार्य आवद्ध हुनुपर्ने

Advertisement

काठमाडौं । स्टक ब्रोकरहरुले अब विद्युतीय भुक्तानी माध्यमबाहेक अन्य माध्यमबाट भुक्तानी लेनदेन नगर्ने भएको छ । विश्वव्यापी कोरोना महामारीको जोखिम न्यूनीकरण गर्न नियमकले समेत निर्देशन दिएको र चेकबाट कारोबार गर्दा झन्झटसमेत हुने भएकाले स्टक ब्रोकर एशोसियशनले सबै लगानीकर्ताहरुलाई कनेक्ट आईपीएस, अनलाइन बैंकिङ वा अन्य कुनै विद्युतीय भुक्तानी सेवामा आवद्ध हुन आग्रह पनि गरेको छ । 

कोरोनाको संक्रमणको जोखिम न्युनिकरण गर्दै विद्युतीय माध्यमको प्रयोग गरि धितोपत्रको दोस्रो बजारमा हुने कारोबार सुचारु गर्न तथा निरन्तर सेवा संचालन गरी राख्न नियमक नेपाल धितोपत्र बोर्ड तथा बजार सञ्चालकहरुलगायतका निकायहरुले गरेको प्रसंसनीय रहेको भन्दै एशोसियनले दोस्रो बजारमा हुने कारोबारको रकम विद्युतीय माध्यमबाट लिनेदिने सम्बन्धमा धितोपत्र बोर्डले दिएको निर्देशनलाई आफूहरुले गम्भीररुपमा लिएको बताएको छ । 

Advertisement

साथै, स्टक ब्रोकर एशोसियशनले आफ्ना सदस्यहरुले आफूमार्फत बिक्री भएको अधिकांश कारोबारहरुको भुक्तानी कारोवार प्रणालीमा उपलब्ध आईपीएसबाट ग्राहकले दिएको बैंक खातामा पठाउने ब्यवस्था गरेको बताउँदै स्टक ब्रोकरहरुबाट कहींकतै यसमा ढिला सुस्ती भएको भए अबिलम्ब सुधार गर्न पनि आग्रह गरेको छ । 

एशोसियशनको विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायी (स्टक ब्रोकर)ले आईपीएसमार्फत बिक्री रकमको हस्तान्तरण गर्दा कतिपय ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण अध्यावधिक नगराएका कारणले रकम भुक्तानी गर्न सदस्यहरुलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुने गरेको अवस्था छ । सेयर बिक्री गर्ने लगानीकर्ताले आईपीएस प्रणालीबाट समयमै भुक्तानी लिन आफूले धितोपत्र बिक्री गर्नुपूर्व आफूले कारोबार गर्ने धितोपत्र दलाल ब्यवसायीलाई आफूले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराईदिनु हुन आग्रह गर्दछौ ।’

कतिपय लागानीकर्ताले आफूले खरिद गरेको रकम कारोवार प्रणालीबाट वा सिधै कनेक्ट आईपीएसको प्रयोग गरी भुक्तानी गरिरहेका भए पनि धेरै लगानीकर्ताहरु तथा ठूला भुक्तानीहरु अझै पनि चेकबाटै गर्ने गरेको जनाउँदै एशोसियशनले कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनहरुले जारी गरेको निषेधज्ञाका कारण आवागमनमा असहजता तथा सीमित बैंकिङ कारोबार भएको यस अवस्थामा चेकमार्फत खरिद कारोवारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल ब्यवसायीहरुलाई अफ्ठ्यारो पर्ने देखिएको बताएको छ । 

धितोपत्र बोर्डबाट समेत निर्देशन जारी भई उल्लेखित मितिले १५ दिन भित्रमा स्टक ब्रोकर र लगानीकर्ताबीच हुने कारोवारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न भनिएकाले अव उप्रान्त धितोपत्र दलाल ब्यवसायहरुले बिद्युतीय माध्यमभन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको एशोसियशनले स्पष्ट पारेको छ । 

Advertisement

Advertisement