नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलको सहकार्य, एनपिएसको प्रणाली सञ्चालनमा

काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा सोमबारबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ । 

उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसैगरी आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्ने छ । 

एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो । जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।