सरकारले संरक्षण गर्न नसक्दा दुर्लभ एकसिंगे गैंडा लोप हुने दिशातर्फ

Advertisement

चितवन । प्राकृतिक कारण, दुर्घटनाका साथै चोरी सिकारीले पनि गैंडा मर्ने क्रम बढ्न थालेपछि संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति चितवन आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग गैंडा मर्नुको कारण र अवस्थाबारे जानकारी लियो । सोमबार सौराहामा स्थानीय सरोकारवालसँग छलफल गर्यो । 

‘गैंडा मर्ने अवस्था डरलाग्दो देखिन थाल्यो । संख्या मात्रै हेरेर र गनेर बस्न भएन । समितिले यसलाई गम्भीरताका साथ लिएको छ । समस्याको कारण खोतल्न, उपाय पत्ता लगाउन फिल्डमै आएका हौं । यसपछि हामी प्रतिवेदन लेख्छौं । सरकारलाई सुझाव र निर्देशन दिन्छौं,’ समितिका सभापति पूर्णकुमारी सुवेदीले भनिन् । संसदीय समितिको सफारिसका आधारमा सरकारले संरक्षणका लागि पाइला चाल्ने विश्वास उनको छ । 

Advertisement

यो आर्थिक वर्षको साउनयता मंसिर १३ सम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा १६ वटा गैंडा मृत फेला परेका छन् । तीमध्ये चारवटा गैंडालाई तस्करहरुले खागका लागि मारेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा तस्करहरुले गैंडा मार्ने क्रम सुस्ताए पनि अन्य कारणले मर्ने क्रम बढ्दो थियो । यो वर्ष चोरी सिकार पनि सुरु भएका कारण संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् ।

Advertisement

Advertisement