५० पैसा मूल्य बढाउने निर्णयबाट पछि हटे पेट्रोलियम व्यवसायी, निगम सकारात्मक

Advertisement

काठमाडौं । माघ १ गतेबाट पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५० पैसा बढाउने घोषणबाट व्यवसायी पछि हटेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष विश्व अर्यालले तत्कालका लागि मूल्य बढाउने कार्यक्रम स्थगित गरिएको बताए । माघ ७ गते केन्द्रिय कार्य समितिको बैठक राखेर थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि उनले जानकारी दिए । 

व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोबारमा न्युन नाफा रहेकाले प्रति लिटर ५० पैसा नाफा बढाइदिन नेपाल आयल निगमसँग माग गर्दै आएका थिए । व्यवसायीले पुस २१ गतेको निर्णयबाट आफैं ५० पैसा मूल्य बढाउने घोषणा गरेका थिए । 

Advertisement

नेपाल आयल निगमका प्रवक्ता बिनितमणी उपाध्यायले व्यवसायीहरुको माग प्रति निगम सकारात्मक रहेको बताए । ‘व्यवसायीका माग प्रति निगम सकारात्मक छ, केहि समयमा उहाँहरुका जायज माग सम्बोधन हुन्छन्’, निगम प्रवक्ता उपाध्यायले कर्पाेरेट नेपालसँग भने । 

एसोसियसनका अध्यक्ष अर्यालले पनि निगम नेतृत्वसँग छलफल भैरेहको र सकारात्मक संकेतहरु देखिएको बताए । ‘हामीले निगम नेतृत्वसँग छलफल गरिरहेका छौं, राम्रा संकेतहरु देखिएका छन्, हामी माघ ७ गतेसम्म कुर्छाै’, अर्यालले कर्पाेरेट नेपालसँग भने । निगम व्यवस्थापन र व्यवासयीबीच एक हप्ताभित्रै व्यवसायीहरुको नाफा बढाउने समझदारी बनेको श्रोतले बतायो । 


 

Advertisement

Advertisement