ऋणमा डुब्यो अमेरिका, हरेक नागरिकको काँधमा २३५०० डलर ऋणको भारी

Advertisement

काठमाडौं । २० जनवरीमा ७८ वर्षिय जोसेफ रोबनेट बाइडेन युनियरले विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकाको राष्ट्रपतिको सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गर्ने त्रासका कारण राजधानी वासिङटन डीसीमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । इराक र अफगानिस्तानमा भन्दा बढी सेना सपथ ग्रहणका क्रममा वासिङटनमा तैनाथ गरिँदैछ । 

यद्यपी यसपालीको सपथ ग्रहण समारोह सुरक्षा र महामारीका कारण फिक्का लाग्नेछ । तैपनि २० जनवरीमा संसारले अमेरिकी परम्परा र चमक धमक पुनः देख्नेछ । अमेरिकी सफलता देखाउने अवसर पनि हो । तर धेरैलाई थाहै छैन, की यस्तो शक्तिशाली अमेरिका ऋणमा चुर्लुम्म डुबेको छ र आगामी पुस्ता त्यहि ऋण तिरेर आफ्नो समय गुजार्न बाध्य हुनेछ । यस्तो अवस्थामा जो बाइडेनले कार्यकाल आरम्भ हुनु अगावै जुन घोषणा गरे त्यसले अमेरिकाको ऋण अझै बढ्नेछ । 

Advertisement

उनले बिहिबार करिब २ खर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेका छन् । जसको उदेश्य महामारीसँग लड्नु, नागरिकलाई खोप उपलब्ध गराउनु, न्युन आय भएका नागरिकलाई नगद उपलब्ध गराउनु, साना व्यवसायीलाई मदत गर्नु र पुरा अर्थतन्त्रलाई गति दिनु हो । त्यसका लागि आवश्यक रकम फेडेरल रिजर्भ बैंकबाट फाइनान्स गरिनेछ । 

ऋणमा चुर्लुम्म अमेरिका
बिहिबार घोषणा गरिएको प्याकेज भन्दा ९ महिना पहिले पनि सरकारले ३.५ खर्ब डलर खर्च गरिसकेको छ । महामारी रोकथाम र सहायता प्याकेजका बावजुद विकास दर न्युन रह्यो । बिहिबारसम्म ३ लाख ७५ हजार अमेरिकीको ज्यान कोरोनाकै कारण गैसकेको छ । हरेक दिन औषतमा ४ हजार नागरिक संक्रमित भैरहेका छन् । गरिब जनता प्रताडित छन् भने व्यवसायी निरास छन् । बेरोजगारी एक पटक फेरी बढेको छ, जसका कारण अमेरिकी नागरिकले अर्काे प्याकेजको आवश्यकता महशुस गरिसकेका छन् ।

जोन हापकिन्स विश्व विद्यालयका अर्थशास्त्री स्टिभ हैँकीका अनुसार जो बाइडन नयाँ आर्थिक प्याकेजका कारण अमेरिकाको ऋण थप बढ्नेछ । राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकार परिषद सदस्य समेत रहिसकेका उनले भने,‘अमेरिकी सरकारले खर्च वृद्धिको मूल्य चुकाउनुपर्नेछ । राष्ट्रिय ऋणमा वृद्धि गरेर खर्चको जोहो गर्नुपर्नेछ ।’ पछिल्लो वर्ष संसारको सबै भन्दा ठूलो अर्थतन्त्र अमेरिकाको घरेलु उत्पादन २१.४४ खर्ब डलर थियो  तर उसको राष्ट्रिय ऋण २७ खर्ब डलर छ । यदि यो ऋणलाई मुलुकको ३२ करोड जनसंख्यामा बाढ्ने हो भने प्रत्येक नागरिकको टाउकोमा २३ हजार ५ सय डलर पर्छ । यसको अर्थ अमेरिकाले आफ्नो पुरै अर्थव्यवस्था बेच्ने हो भने पनि पुरा ऋण तिर्न नसक्ने अवस्था बन्नेछ । 

को हो जिम्मेवारी ?
अमेरिकी आर्थिक विशेषज्ञहरुका अनुसार मुलुकलाई ऋणमा डुबाउन ट्रम्पको भूमिका छ । ट्रम्पले सत्ता सम्हालेपछि ऋण घटाउने प्रतिवद्धता गरेका थिए तर त्यसको ठिक उल्टो झन ऋण बढाउने काम मात्रै गरे । ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको कर्जा ७.८ खर्ब डलरले वृद्धि भयो । सन २०१६ मा ट्रम्प राष्ट्रपति बन्नु अघि अमेरिकाको कर्जा १९.९५ ट्रिलियन डलर थियो । ३१ डिसेम्बर  २०२० मा आईपुग्दा त्यस्तो ऋण २७.७५ ट्रिलियन डलर पुग्यो । 

कोरोना महामारी भन्दा अघि नै अमेरिकी अर्थतन्त्र धरासायी बनिसकेको थियो । बेरोजगारी बढेको र अर्थतन्त्र नाजुक बनेको तथ्यलाई ट्रम्प प्रशासनले नै स्वीकार गरेको थियो । संकट मोचनका लाग ट्रम्पले कर कटौती गरे तर अनावश्यक खर्च कटौती भने गरेनन् ।  ट्रम्पले सन २०१७ मा कर्पाेरेट करलाई ३५ प्रतिशतबाट घटाएर २१ प्रतिशत बनाए तर अनावश्यक खर्च कटौताी नगर्दा राष्ट्रिय ऋण बढेको थियो । ट्रम्पले अमेरिकालाई कुनै नयाँ युद्धमा नधकेली दोश्रो विश्व युद्धपछि सबै भन्दा ठूलो ऋणको दलदलमा फसाईदिएका छन् । 

ताजा प्याकेजका लागि ऋण कसले दिन्छ ? र नतिजा के हुन्छ ?
जोन हापकिन्स विश्व विद्यालयका प्राध्यापक स्टिभ हैँकीका अनुसार त्यस्तो ऋण फेडेरल रिजर्भ बैंक(नेपालका लागि राष्ट्र बैंक जस्तै बैंक)ले दिनेछ । यसले अतिरिक्त मूल्यवृद्धि ल्याउनेछ र नागरिक माथि नयाँ करको बोझ थपिनेछ । नयाँ करले गर्दा अमेरिकी नागरिकको जीवन झन कठिन हुनेछ । -बीबीसीको सहयोगमा

Advertisement

Advertisement