ओलीको विकल्पमा सरकार बनाउन उपेन्द्र सक्रिय भएपछि महन्थको आपत्ति, विज्ञप्ति निकाले

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको वैकल्पिकमा अर्को सरकार बनाउन आफ्नो पार्टीका अर्का नेता उपेन्द्र यादव सक्रिया भएपछि जनता समाजवादी पार्टी (जसपा)का नेता महन्त ठाकुरले त्यसको आलोचना गरेका छन् । ठाकुरले विज्ञप्ति निकालेर यादवको गतिविधि पार्टी नीतिविपरित भएको बताए । 

यादवले सोमबार वैकल्पिक सरकार बनाउन प्रक्रिया थाल्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको वक्तव्यमा सही गर्न पुगेपछि ठाकुर पक्ष आक्रोसित भएको हो । यादवलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि साथ दिएका छन् । 

Advertisement

नयाँ सरकार बनाउने नबनाउने कुरामा निर्णायक शक्तिको रुपमा रहेको जसपाको कलह चर्किएर गएको छ । यादव र भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन् । 

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्र यादव सक्रिय भएपछि ठाकुरले पार्टी निर्णय र लाइन विपरीत भन्दै वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन्। 

उनले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राखेका हुन्। ठाकुरले मधेशको मुद्दाको सवालमा सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विगत र हप्तादेखि मधेशी, आदिवासी जनजाती, थारु, महिला, दलित, मुस्लिम लगायत, सिमान्तकृतको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दी रिहाई, नागरिकता संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगायतको विषयमा जनता समाजवादी पार्टी र केपी ओली नेतृत्वको सरकार बीचको वार्ता तथा तदनुसारका कार्यप्रगति सकरात्मक ढंगले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ।’

अहिलेको अबस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत ठाकुरले बताएका छन्। उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागि हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको उनको ठहर छ।

ठाकुरले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चिततातर्फ धकेलिने स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘एक जिम्मेवार राजनीतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी जनजाती, थारु, दलित, महिला मुस्लिम लगायतका सिमान्तकृत, शोषित, पीडित, उपक्षित समुदायको एजेण्डा सम्बोधन निम्ति निरन्तर प्रयासरत, कार्यरत र संघर्षरत रहनेछ।’

सोमबार संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो। उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहेका थिए। 

Advertisement

Advertisement