गोल्छाको प्रश्न– भर्खर जन्मिएको बच्चालाई ‘हिंड’ भन्न मिल्छ ? पहिला हुर्किन त देउ

काठमाडौं । नेपालमै एसेम्लिङ प्लान्ट निर्माण गरी बजाज ब्राण्डका मोटरसाइकल उत्पादन गर्दै आएका शेखर गोल्छाले भारतको अटोमोवाइल उद्योगको विकास सुरुमा आरएण्डी (रिसर्च एण्ड डेभलपमेन्ट)मा लगानी गरेर नभई एसेम्बल प्लान्टबाट भएकोले नेपाल पनि सोही विधिमा जानुको विकल्प नरहेको बताएका छन् । 

महालेखापरीक्षकको प्रतिवेदनमा मूल्य अभिवृद्धि (भ्यालु एडिशन) शुन्य हुने एसेम्लिङ प्लान्ट स्थापनाका लागि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएको औंल्याइएको विषयमा उनले त्यसको कडा प्रतिवाद गरे । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छाले भने, ‘भारत हामीभन्दा ठूलो अर्थतन्त्र हो । उसले त आरएण्डडीमा लगानी नगरेर सुरुमा एसेम्बल प्लान्टहरु बनाएर क्रमसः अटोमोवाइलको विकास गर्दै गयो । किन होला ? 

भर्खर जन्मिएको बच्चालाई जन्मिने बित्तिकै हिंड भनेर हिंडन नसक्ने तर्क गर्दै उनले एसेम्लिङ उद्योग पनि अटोमोवाइल उद्योगको बच्चा हो, यसलाई हुर्किन दिनुपर्छ भने । अटोमोवाइलको विकास एसेम्लिङ प्लान्ट हुँदै कम्पोनेन्ट म्यानुफेक्चरिङ र अन्तिममा आरएण्डडी स्थापना हुने चरणमा सबैभन्दा कम भ्यालु एडिशन एसेम्लिङ प्लान्टमा हुने र त्यो क्रमसः बढ्दै जाने गोल्छाले पिरामिड देखाए ।  

एसेम्लिङ प्लान्ट लगाउन नपाउँदै मूल्य अभिवृद्धि खोज्ने राज्यका निकायमा यस सम्वन्धी अध्ययनको कमी भएको उनले बताए । गोल्छाले भने, ‘जर्मनी, जापान जस्ता राष्ट्रले सुरुमा आरएण्डीमा ठूलो लगानी गर्दै कम्पोनेन्ट म्यानुफ्याक्चरिङ गर्दै एसेम्लिङ गर्यो । तर इण्डिया जस्ता कतिपय कम्पनी त्यसको ठिक विपरित गए । मारुती सुरुमा इण्डियामा आउँदा एसेम्लिङबाट सुरु भएको हो । त्यसपछि पहिलो, दोस्रो तहको कम्पोनेन्ट बनाउँदै सतप्रतिशत इण्डिजिनियस बनायो । अन्तिममा आरएण्डडीमा लगानी गर्यो । अब हामी कुन बाटो जाने ? अटोमोवाइल उद्योगको विकास गर्ने बाटो रोज्ने कि नगर्ने बाटो रोज्ने ?’ 

अहिले नेपालमा बजाज र टिभिएसको यस्तो प्लान्ट सुरु भइसक्यो । यामाहा र होण्डाले पनि चाँडै सुरु गर्दैछ । उनले एसेम्लिङ उद्योग नफस्टाई नेपालमा अटोमोवाइलको थप विकास नहुने बताउँदै महालेखापरीक्षकको कार्यालयको रिपोर्ट विना अध्ययन आएको बताए । गोल्छाले थपे, ‘एसेम्लिङ प्लान्ट नखोल्ने र आयात मात्रै गर्ने हो भने ठिकै छ । नेपालमा चिनी उद्योग किन चाहियो ? भारतबाट चिनी आयात गर्ने हो भने उपभोक्ताले पनि सस्तोमा पाउने राज्यले पनि राजश्व पाउने, गुणस्तरीय चिनी पनि हुने, देशमा किन चिनी उद्योग चाहियो ? भएका सबै उद्योग बन्द गरौं । तपाईंलाई थाहा छ है कृषिमा कति खर्च गर्छ राज्यले ? अनुदान दिन्छ । पूर्वाधारमा खर्च गरेको छ । तर हाम्रोभन्दा इण्डियाको धेरै सहुलियत र व्यवसायिक विकास भएकाले उत्पादन सस्तो हुन गई हामीले किन्ने चामल ६० देखि ७० प्रतिशत इण्डियाबाट आउन थालिसक्यो । यदि आयात सस्तो हुन्छ भने किन हामीले किसानलाई अनुदान दिइरहने ? आयात गर्न सके चामल सस्तो पनि पर्ने भयो । राजश्व पनि बढ्ने भयो ।’

गोल्छाको डेढ अर्ब लगानी भएको प्लान्टमा हाल पाँचसय कर्मचारी कार्यरत छन् । त्यसमा एक जना इण्डियन रहे पनि बाँकी नेपाली नै कार्यरत रहेको उनले बताए । आफूहरुले नेपाली कामदार तथा कर्मचारीलाई भारतमा तालिम लिन नपाएर उनीहरुलाई नै काममा लगाएको बताउँदै त्यसमा तीनसय जना इन्जिनियर रहेको सुनाए । उनीहरुले सरदर पारिश्रमिक ४५ हजार रुपियाँ रहेको छ । एक मिनेटमा एउटा मोटरसाइकल उत्पादन हुन्छ । प्लान्ट स्थापना भएपछि त्यस वरिपरि धेरै व्यापार व्यवसाय फस्टाएको उनले उदाहरण दिए । यस्ता एसेम्लिङ प्लान्टहरु थपिने क्रमसँगै रोजगारी पनि बढ्ने त्यसपछि यूम्यास जस्ता कम्पोनेन्ट उत्पादन गर्ने कम्पनी स्थापना हुने बताए । उसले नेपालमा कारखाना स्थापना गर्न पटक पटक कुरा गरिसकेको गोल्छाले सुनाए । यूम्याक्सले कम्पोनेन्ट बनाउन थालेसँगै यही मोडलिङ गरेर मोटरसाइकल उत्पादन हुन थालेपछि ठूलो भ्यालु एडिशन हुने उनले बताए । 

गोल्छाले आरएण्डीसम्म पुग्ने बेलासम्ममा नेपालका अटोमोवाइल प्लान्टहरुमा २० हजार इन्जिनियरले रोजगारी पाइसकेको हुने दावी गरे । सरकारले भन्सार महशुलमा नभई अन्तःशुल्कमा मात्रै छुट दिएको हो, त्यो पनि शर्तसहित भन्दै उनले शर्तअनुसार कम्पोनेन्ट म्यानुफ्याक्चरिङमा जानैपर्ने बताए । यसको नियमावली भने बनिसकेको छैन् । गोल्छा भन्छन्, ‘यसअघि एसेम्लिङ प्लान्ट लगाउन सरकारले अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएको हो । ड्युटीमा छुट दिएको होइन् । त्यो भनेको ४० प्रतिशतमा २५ प्रतिशत छुट त्यो भनेको मलाई १० प्रतिशत एक्ट्रा छुट हो । मैले एउटा फ्याक्ट्रीमा डेढ सय करोड लगानी गरेको छु, पाँच सय जनालाई रोजगारी दिएको छु । भविश्यका लागि यति ठूलो पूर्वाधार बनेको छ । यसमा कुनै सर्भिस चार्ज पनि जोडेको छैन् । मलाई बस्ने भनेको त्यही १० प्रतिशत हो । त्यो पनि बच्ने होइन् । सबै कुरा त्यसैबाट गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीले आयात गर्दा भन्सारमा अन्तःशुल्क तिरे पुग्छ । तर यहाँ हामीले बिक्री मूल्यमा अन्तःशुल्क बुझाउनुपर्छ । भनेपछि मैले पाउने एडभान्टेज भनेको चारदेखि पाँच प्रतिशत मात्रै हो । अब अहिले आएर अन्तःशुल्कमा छुट २५ बाट ५० प्रतिशत भयो । यो छुटमा शर्त छ कम्पोनेन्ट म्यानुफ्याक्चरिङमा जानैपर्छ ।’

एसेम्लिङ प्लान्टलाई उपेक्षा गरियो भने नेपालमा अटोमोवाइल उद्योगको विकास कहिल्यै हुन नसक्ने उनको विश्लेषण छ । करका दृष्टिले मात्रै हेर्ने हो भने नेपालमा धेरै उद्योग विकास हुन नसक्ने अवस्था रहेको बताउँदै उत्पादन लागतकै कारण नेपालमा औद्योगिकीकरण हुन नसकेको अनुभव बताए । अटोमोवाइल उद्योगको विकासमा बंगलादेशमा पनि शर्तसहित एसेम्लिङ प्लान्ट स्थापना गर्न प्रोत्साहनको नीति लिइएको गोल्छाले औंल्याए ।