रेटिङमा नपरेका विदेशी पुनर्बीमा कम्पनीहरु प्रतिवन्धित्, फाइलै रोक्न थालिसक्यौंः सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिले रेटिङमा नपरेका विदेशी पुनर्बीमा कम्पनीलाई प्रतिवन्ध लगाएको छ । समितिले रेटिङ बिनाका पुनर्बीमा कम्पनीको फाइल नै रोक्दिन थालेको जनाएको छ । 

बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा अपनाउने नीतिमा कडाई गर्दै समितिले विश्वका कमजोर तथा रेटिङ नपाएका पुनर्बीमा कम्पनीलाई धमाधम व्यवसाय दिएको पाइएकोले यस्तो नीति लिनु परेको जनाएको छ । 

Advertisement

बीमा समितिका अध्यक्ष सूर्य सिलवालकाअनुसार कम्पनीहरूले आफ्नो फाइदाको लागि मात्रै व्यवसाय गर्नु हुँदैन् । दुई दिनको फाइदाको लागि बीमालाई धरापमा पार्ने कुराले कम्पनीलाई पनि दीर्घकालसम्म चल्न दिँदैन । 

उनले कर्पोरेट नेपालसँग भने, ‘अब हामीले बीमा कम्पनीहरूलाई जुन पायो त्यही पुनर्बीमा कम्पनीसँग व्यवसाय गर्न नदिने भएका छौं । कम्पनीले मनोमानी रूपमा पुनर्बीमा कम्पनी छान्दा त्यसको असर सिधै बीमितलाई पर्दै आएको छ । कमजोर पुनर्बीमा कम्पनीले पनि समयमा पैसा भुक्तान गर्दैन ।’ 

सिलवाल प्रश्न गर्दै थपे, ‘हामीहरूले जति बीमा गरे पनि त्यो बीमितकै लागि भनेर काम गर्ने हो । अब अरूको जोखिम बोक्दै हिड्ने कम्पनीले नै कमजोर कम्पनीसँग पुनर्बीमा गराएपछि बीमाको हालत कहाँ पुग्छ ?’

पुनर्बीमा गराउँदा रेटिङ अनिवार्य
नेपाली बीमा कम्पनीहरूले जुनसुकै पुनर्बीमालाई पनि आफ्नो व्यवसाय दिँदै आएका थिए । कम्पनीहरुले क्षणिक फाइदाका लागि यस्ता कम्पनीहरु खोज्दै हिँड्ने प्रवृत्ति देखेपछि समितिले यसमा कडाई गरेको हो । अब राम्रो रेटिङ प्राप्त पुनर्बीमा कम्पनीमा मात्र व्यवसाय दिन मिल्ने सिलवालले स्पष्ट पारे । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनर्बीमा कम्पनीले ए, ए प्लस, ए प्लस प्लस लगायतका रेटिङ पाउँछन् । 

त्यस्ता कुनै पनि रेटिङ पाएको कम्पनीमा भने सहजै पुनर्बीमा गर्न मिल्ने बीमा समितिको भनाई छ । समितिले नेपालमा रहेका पुनर्बीमा कम्पनीको हकमा भने पुनर्बीमा गराउँदा कुनै पनि रेटिङ आवश्यक नरहेको जानकारी दिएको छ । हाल नेपालमा सरकारी पुनर्बीमामा कम्पनीको रूमा नेपाल पुनर्बीमा कम्पनी र निजीतर्फ हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेका छन् ।

अध्यक्ष सिलवाल भन्छन्, ‘अहिलेसम्म त डुब्न लागेको कम्पनीमा पनि पुनर्बीमा हुनेगरेको रहेछ । मैले रेटिङ प्राप्त कम्पनीभन्दा बाहेकका पुनर्बीमा कम्पनीमा व्यवसाय दिन खोजका फाइलहरू अहिले रोक्दिएको छु ।’ उनले यस निर्णयले बीमा समितिलाई भन्दा पनि कम्पनीलाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले अब कम्पनीहरूले राम्रो रेटिङ पाएको कम्पनी खोज्न जरूरी छ भने । 

सिलवालले आफूले काम गर्ने गतिमा कुनै कमी नआएको पनि दावी गरे । उनले भने, ‘मैले आफ्नो ट्रयाक चेन्ज गरेको छैन, गडबड गर्नेलाई कारबाहीको विकल्प छैन ।’ सिलवालले थपे, ‘अहिले हामीले पनि सबै कम्पनीहरूको गतिविधि अध्ययन गरिरहेका छौं । नियामक निकाय भनेको एउटा सहजीकरण गर्ने मध्यस्तकर्ता पनि हो । तर, काही पनि नचाहिँदा गडबढी भएका छन् भने म कसैलाई पनि चिन्दिन् । कारबाहीको विकल्प छैन् ।’

अध्यक्ष सिलवालले अब छोटो समयमा नै बीमा क्षेत्रमा भएका अस्वस्थ प्रतिस्पर्धाको छानविन गर्ने र सबैलाई कारबाहीको दायरमा ल्याउने बताए कुराकानीको अन्तिममा भने‘ अब मलाई छोटो समय दिनुहोस्, लामो समय पर्खनु पर्दैन ।’ 

Advertisement

Advertisement