अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीको निर्णय
अभियन्ता ओजमुन कुभाला

Advertisement

एजेन्सी । आफ्नो देशको आन्तरिम मामिलाबारे वक्तव्य जारी गरेपछि टर्कीले अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाएका हुन् । 

चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरुले वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोआनको यस्तो कडा निर्णय आएको हो । गत साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूले कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए । तीमध्ये सात देश टर्कीका नेटो सहयोगी हुन्।

Advertisement

युरोपको प्रमुख मानवअधिकार निगरानी गर्ने संस्था काउन्सिल अफ युरोपले कुभालालाई रिहाइ गर्ने मानव अधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न अन्तिम चेतावनी दिएको छ।

शनिवार एक भेलालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनले राजदूतहरूले टर्कीको परराष्ट्र मन्त्रालयमा आएर आदेश जारी गर्ने हिम्मत गर्न नसक्ने बताए। उनले भने, ‘मैले हाम्रा विदेशमन्त्रीलाई आवश्यक आदेश दिइसकेको छु र के गर्नुपर्छ पनि भनेको छु। यी १० राजदूतहरूलाई एकैसाथ पर्सना नन ग्राटा दिइनुपर्छ। छिट्टै निर्णय लिइहाल्नु भनेको छु ।’ 

टर्कीको यस्तो निर्णयबारे देश निकाला भएका देश र सम्वन्धित राजदूतको कुनै प्रतिक्रिया भने आएको छैन् । यद्यपि उनीहरु आन्तरिम छलफलमा रहेको समाचार छ । उनीहरुका वक्तव्यमा कुभालाको मुद्दामा निरन्तर ढिलाइ गरिएकोमा आलोचना गरिनुका साथै टर्कीको प्रजातन्त्रप्रतिको सम्मान, कानुनी शासन र न्यायिक प्रणालीमा पारदर्शिता छायामा परेको कुरा उल्लख छ । 

Advertisement

Advertisement