मोतीपुर औद्योगिक क्षेत्रमा मारिएकाको परिवारलाई राहत दिने सरकारको निर्णय

Advertisement

काठमाडौ। सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा मारिएका मृतकका परिवारलाई राहतस्वरुप पाँच लाख ५० हजार रुपियाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको हो । जसमध्ये पाँच लाख रुपियाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

Advertisement

गएको २४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी गोली चलाएको थियो । त्यस क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । 

मन्त्रिपरिषदले नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय पनि गरेको कार्कीले बताए । 

Advertisement

Advertisement