लगानीकर्तालाई इन्भेष्टर्स फोरमका उपाध्यक्षको टिप्सः कसरी शेयर किन्ने ? कुन बेलामा बेच्ने ?

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले शेयर किन्नभन्दा पनि बेच्न सिपालु हुनुपर्छ भन्दै लगानीकर्तालाई विभिन्न टिप्स दिएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूले दिएका टिप्स अपनाउने लगानीकर्ताले पछुताउनुपर्ने अवस्था न्यून हुने पनि बताए । शेयर बजारमा पछिल्लो समय नयाँ लगानीकर्ताको संख्या बढ्ने क्रम जारी छ । प्रविधिको पहुँच बढ्दै जाँदा नयाँ लगानीकर्ताको संख्यामा पनि वृद्धि भए पनि शेयर बजारबारे राम्रो ज्ञान नहुँदा उनीहरुले नोक्सानी भोग्नुपरेको गुनासो सामाजिक सञ्जालमा बढि देखिन्छ । 

Advertisement

लम्सालले हिजो निकै थोरै लगानी गरेर बजार प्रवेश गरेका लगानीकर्ता आज ठूलो पोर्टफोलियोको मालिक भएका छन् भन्दै नयाँ र साना लगानीकर्तालाई लक्षित गरेर विभिन्न टिप्स दिएका छन् । 

यस्ता छन् टिप्सः
पुँजी बजारमा जुनसुकै बेला जतिसुकै पैसाबाट पनि लगानी सुरू गर्न सकिन्छ ।

एक्कै पटक ठूलो लगानी गर्छु भनेर हौसिनु त्यति राम्रो होइन् ।

शेयर बजार व्यवसाय हो, यहाँ घाटा पनि हुनसक्छ र नाफा पनि हुनसक्छ भन्ने कुरा हरेक लगानीकर्ताले सोच्नुपर्छ ।

बजारको हल्लाभन्दा पनि कम्पनीको वास्तविकता थाहा पाउने तथा वित्तीय विवरण अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ । सामाजिक सञ्जालमा आएका कुरालाई विश्वास गरेर धारणा बनाउने वा निर्णय गर्न हुन्न् । 

शेयर बजारमा किन्न जस्ले पनि जानेको छ । तर बेच्न जान्नेको संख्या निकै कम हुन्छ । उपयुक्त समयमा शेयर बेच्न सक्नु नै सफल लगानीकर्ता हो ।  

शेयर बजारमा कुनै पनि लगानीकर्ताले बढि लोभ गर्नु हुँदैन । लोभ गर्दा लाभभन्दा पनि नोक्सानको संभावना हुनसक्छ । 

शेयर बजार भनेको आश र त्रासको बजार हो । जहिल्यै पनि जोखिम र आफ्नो कमाईको सम्भावना तुलना गर्न सक्नुपर्छ । 

सुरूमा लगानी गर्दा बलियो कम्पनी छान्नु नै उत्तम हुन्छ । किनभने सुरूमा गरिने लगानीकै आधारमा शेयर बजारको जोखिम र अनुभव हासिल गर्न समय मिल्छ । 

शेयर बजार पनि फल जस्तै हो । काँचो फल किन्न सक्नुपर्छ भने पाकेको फल बेच्न सक्नुपर्छ । त्यो भनेको बजार घटेको बेलामा किन्ने हो । बढेको बेलामा बेच्ने हो ।

शेयर किन्दा लामो समय र छोटो समय दुवै बेलाको लागि  कम्पनी हेरेर किन्नुपर्छ ।

लगानीको अनुपातमा यति नाफा हुँदा बेच्छु भन्ने अड्कल गर्नुपर्छ । धेरै लगानीकर्ता बेच्ने बेलामा अल्मलिने गरेको देखिएकाले त्यो अलमल जोखिमयुक्त हुनसक्छ । 

जागिरले महिनाभरी काम गरेर आर्जन गरेको तलब लगानी गर्दा पहिला थोरै लगानी गर्ने र विस्तारै बढाउँदै जानुपर्छ । 

आफूभन्दा अनुभवी लगानीकर्ताबाट सल्लाह लिएर लगानी गर्दा ठूलो नोक्सानबाट जोगिने संभावना धेरै हुन्छ । 

पोर्टफोलियोलाई विविधिकरण गर्नुपर्छ । एउटै कम्पनीमा धेरै पैसा हाल्नुभन्दा पनि धेरै कम्पनीमा थोरै थोरै लगानी गर्नु कम जोखिमयुक्त हुन्छ । किनभने एउटा कम्पनी घाटामा जाँदा अर्को नाफामा गइरहेको हुन्छ । 

धेरै क्षेत्रका कम्पनीमा लगानी गर्दा समग्र शेयर बजारबारे बुझ्न सहयोग मिल्छ । धेरै कम्पनीमा लगानी छर्दा अल्पकालिन र दीर्घकालिन हिसाबले पनि राम्रो हुन्छ र नोक्सान भोग्नुपर्ने अवस्था पनि कमै हुन्छ । 

Advertisement

Advertisement