निजीक्षेत्रले उठायो ब्याजदर र एमसीसीको कुरा, कसले के भने ?

Advertisement

शेखर गोल्छा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
जब ब्याजदर ४.५ प्रतिशत माथि पुग्छ, तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन् । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ । एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्छ । त्यसैले यसलाई रोक्न हुन्न । स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ । तर, अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ । सीडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगेको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ । सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार छ ।

Advertisement

कृष्णप्रसाद अधिकारी
कार्यवाहक अध्यक्ष, नेपाल उद्योग परिसंघ
निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकार समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।  कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबैजसो मुलुकमा परेको छ । अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनि चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्छ । सार्वजनिक निजी साझेदारीको रुपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्छ । सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमा जान सकिन्छ ।

व्यवसायीहरुले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त गरेको विचार
 

Advertisement

Advertisement