रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि नै प्रतिवन्ध लगाउने बाइडेनको चेतावनी

Advertisement

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नै प्रतिवन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी रुसलाई दिँदै आएको बेला बाइडनेले पुटिनलाई यस्तो चेतावनी दिएका हुन् । 

युक्रेन स्वतन्त्र राष्ट्र नभई आफ्नो अभिन्न अंग भएको बताउँदै आएको रुसले युक्रेनसँगको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकसहित बस्तरबन्द गाडीहरु तैनाथ गरेको छ । यद्यपि रुसले युक्रेनमाथि आक्रमण गर्ने मनसाय नरहेको बताउँदै अमेरिका र पश्चिमा राष्ट्रहरुले अनावश्यक तनाव बढाएको बताएको छ । 

Advertisement

युक्रेनको विषयलाई लिएर दुई शक्ति राष्ट्रहरु अमेरिका र रुसबीच तनाव बढिरहेको बेला बाइडेनले युक्रेनमाथि आक्रमण भए दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुने बताएका छन् । 

बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि असाधारण परिणाम निम्त्याउनसक्ने भन्दै त्यस्तो अवस्थाले पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको बताएका छन् । 

युक्रेनमा अस्थिरता बढेसँगै अमेरिकाले त्यहाँ रहेको आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छाड्न आदेश दिएको थियो । बाइडनले युक्रेनमा अमेरिकी सेना पठाउने कुनै योजना नभएको बताए पनि ठूलो संख्यामा हातहतियार भने पठाएको समाचार आएका छन् । 

यसअघि अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने भन्दै करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको थियो।

Advertisement

Advertisement