गभर्नरले लेखा व्यवसायीसँग आयात र विदेशी मुद्राको अनौपचारिक कारोबारको सुचना मागे

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात र विदेशी मुद्रासँग जोडिएको अनौपचारिक कारोबारको सुचना मागेका छन् । 

 चार्टर्ड एकाउन्टेन्टहरुको संस्था (आईक्यान)को सम्मेलनमा बुधबार उनले मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार निकै ठूलो रहेको बताउँदै अनौपचारिक व्यवसायको सूचना सरकारका  सरोकारवाला निकायलाई उपलब्ध गराउन आग्रह गरे । 

Advertisement

अधिकारीले भने, ‘आयातको तथ्यांक केलाउँदा हाम्रोमा खपत नहुने केही वस्तुको समेत आयात हुनेगरेको देखिन्छ । डलर तिरेर हाम्रो लागि हैन, अरूको लागि पनि आयात गरेर ल्याउँछौँ भन्ने छ । ती आयात केलाउँदा फर्मल रूपमा निर्यात भएको पनि देखिँदैन । त्यो हिसाब कसरी मिल्छ ? त्यसलाई कसरी केलाउने अडिटरले बताइदिनुपर्यो ।’ 

धेरै आयात भएर देशलाई अप्ठ्यारो परेको बताउँदै उनले विप्रेषण आयमा पनि अनौपचारिक कारोबारको निकै ठूलो हिस्सा रहेको बताए । वैदेशिक रोजगारीमा जानेले नेपाल पठाउने पैसा अनौपचारिक माध्यमबाट कसरी आउँछ  ? त्यसको ‘टिप्स’ दिन आग्रह गर्दै अधिकारीले कतिपय देशको नीतिगत व्यवस्थाले गर्दा पनि सरकारले रेमिट्न्स लागत बेहोर्ने अथवा निक्षेप राख्दा अतिरिक्त ब्याजदर दिँदा पनि औपचारिक माध्यमबाट रेमिट्यान्स आउने अवस्था नरहेको बताए ।

उनले थपे, ‘रेमिट्यान्सको पछाडि धेरै कथा छन् । रेमिट्यान्सलाई नियमित र औपचारिक गर्न प्रयास गर्दागर्दै पनि सकिँदैन । डलरको सम्बन्धमा प्रत्येक मुलुकको  आ–आफ्नै नियन्त्रण प्रणाली हुन्छ । विदेशी मुद्राको नेपालले पनि जति पायो त्यति लान दिँदैन । माल्दिभ्स, श्रीलंकाकाले अहिले विदेशी मुद्रा पठाउन सक्दैन । उनीहरूसँग छैन । कतारले पनि विदेशी मुद्रा नपठाउने नीति लिएको छ । रेमिट्यान्सको कमिसन शुल्क शेयर गरेर अथवा निक्षेपपा जति ब्याजदर दिए पनि त्यो फर्मल माध्यमबाट आउँदैन् ।’ धेरै देशले डलर पठाउन नखोज्दा पनि हुण्डीको कारोबार हुने गरेको अधिकारीको भनाई छ । 

लेखा व्यवसायीहरु लेखापरीक्षणका क्रममा देशका कुना कुनासम्म पुग्ने भएकाले विप्रेषणको कारोबार कुन कुन एजेन्सीले औपचारिक र अनौपचारिकरुपमा कसरी गर्छन् ? भन्ने जानकारी हुनसक्ने भएकाले त्यो कुराहरुको जानकारी दिन गभर्नर उनले आग्रह गरे । विदेशमा रहेका नेपालीहरुले पठाउने विप्रेषणमध्ये झण्डै आधै अनौपचारिकरुपमा आउने र त्यसरी ल्याउनेहरुले नेपालमा नोटको अनधिकृत कारोबार गर्ने गरेको बताइँदै आएको छ । 

Advertisement

Advertisement