परिस्थिति हेर्दा राजापाक्षे भागे जस्तै हाम्रा नेताहरु पनि भाग्ने स्थिति आउला जस्तो भयोः काफ्ले

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेश काफ्लेले देशको राजनीतिक र आर्थिक परिस्थिति हेर्दा परिस्थिति हेर्दा श्रीलंकामा जस्तै नेपालमा पनि नेताहरु लखेटिने स्थिति आउला जस्तो भएको बताएका छन्  । 

कर्पोेरेट नेपालसँगको कुराकानीमा उनले श्रीलंकामा पेट्रोलियम पदार्थको आपूर्ति बिग्रिएकै कारण जनताले विद्रोह गरेको र नेताहरुलाई लखेट्ने परिस्थिति निर्माण भएको बताउँदै नेपालमा पनि जुन ढंगले इन्धनको मूल्य वृद्धि भइरहेको छ, त्यो गम्भीर अवस्था भएको बताए । 

Advertisement

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गर्दै आएका काफ्लेले भने, ‘श्रीलंकामा संकट सुरु भएकै पेट्रोलियम प्रोडक्टले हो । भोलि यहाँ पनि यसरी नै मूल्य वृद्धि हुँदै जाने, त्यही स्थितिमा अभाव सिर्जना हुन थाल्ने हो भने जनतामा फ्रष्टेशन हुन्छ । बाध्य भएर जनता सडकमा आउन थाल्यो भने त्यो आक्रोस अहिलेकै अयोग्य नेताहरुमाथि पोखिन थाल्छ । यी नेताले थेग्नै सक्दैनन् ।’

स्थानीय निर्वाचनमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारहरुतर्फ मतदाताको बढी मत आउन थाल्नु शासन गर्दै आएका दल र नेताहरुप्रतिको वितृष्णा भएको उनले बताए । काफ्लेले दल र नेताहरुको कार्यशैलीमा परिवर्तन नआए आउँदा निर्वाचनहरुमा उनीहरुले अनपेक्षित नजिता भोग्नुपर्ने हुनसक्छ भने । 

डा. काफ्लेले भने, ‘बालेन शाह त अहिले मौन मतबाट आएको हो । त्यो मौन जनता सडकमा आएर ढुंगामुढा गर्न थाल्यो, तोडफोड गर्न थाल्यो भने के हुन्छ ? अनि राजापाक्षे भागे जस्तो भाग्नुपरेन यिनीहरु ? स्थिति गम्भीर देख्नु मैले । तर नेताहरु गम्भीर भएको मैले देखिन । उनीहरुलाई सत्तामा कसरी टिक्ने ? कसरी पद जोगाउने ? आफ्नो निर्वाचन क्षेत्रको भोट बैंक कसरी सुरक्षित गर्ने ? निर्वाचनका लागि खर्च कसरी जोहो गर्ने ? यस्तै कुरामा मात्रै ध्यान छ ।’

देश असफल राष्ट्र हुन श्रीलंकको जस्तै संकट आउनुपर्छ भन्ने होइन् भन्दै उनले संकट विभिन्न रुपमा आउनसक्ने बताए । काफ्लेले प्रश्न गरे, ‘पेट्रोलियम पदार्थको भाउ बढाउनु थियो भने आइतबार विदा दिएको चाहीं किन ? खपत घटाउने र मूल्य थप वृद्धि नगर्ने, जनतालाई थप मारमा नपर्ने सोच हो जस्तो लाग्थ्यो । फेरि बढाउने तयारी भइरहेको सुनिन्छ । इण्डियन आयलको पनि पैसा तिरेको छैन् अरे । उधारो ल्याएर कति दिन चल्छ ? उसले कति दिन दिन्छ ? दिन्न भनेको दिन के हुन्छ ?’

आइतबार विदाले मुलुकको अर्थतन्त्रदेखि विशेषगरी शेक्षिक क्षेत्र निकै प्रभावित भएको उनले बताए । काफ्लेले कोभिडका कारण लामो समय प्रभावित भएको आर्थिक क्षेत्र उकास्न सार्वजनिक सेवालाई बढाउनुपर्ने र सके शनिबार पनि अत्यावश्यक सेवाहरु दिनुपर्ने बेला आइतबार विदा दिने निर्णय उचित नभएको तर्क गरे । 

अर्थमन्त्री क्षमतावान नहुँदा पनि अर्थतन्त्र र वित्तीय क्षेत्रमा समस्या देखिएको उनलेको विश्लेषण छ ।  काफ्लेले देशको अर्थव्यवस्था चलाउने कुरा बन्दुक चलाए जस्तो होइन् भन्दै बहुआयामिक र कुटनीतिक क्षमता आवश्यक पर्ने बताए । 

साथै, डा.  काफ्लेले आलोचना हुने डरले सार्वसाधारण ग्राहकको लाइन खासै नकाटेर उद्योगधन्दामा २४ घण्टासम्म लोडसेडिङ गर्ने नेपाल विद्युत प्राधिकरणको कार्यको पनि आलोचना गरे । उनले बढ्दो आयात र उत्पादनमा कमी भइरहेको बेला उद्योगहरु उल्टै बन्द हुनेगरी विद्युत कटौती गर्ने कुराले  पनि अर्थतन्त्रमा नकारात्मक असर परेको बताए । 

काफ्लेले भने, ‘उद्योगीहरु चाहीं यो देशका नागरिक होइनन् जस्तो व्यवहार गर्नुहुन्न । विजुली दिनु राज्यको दायित्व हो । दिन सकेन भने सार्वजनिकरुपमा आव्हान गरेर यस्तो समस्या पर्यो भनेर सहयोग गर्न आग्रह गर्ने हो ।  राज्यले विभेदपूर्ण व्यवहार कुनै नागरिकप्रति पनि गर्न हुँर्दैन्थ्यो । 

Advertisement

Advertisement