बजेटमा भएको विभेद र त्रुटी नसच्चाए सिंहदरबार घेर्ने असन्तुष्ट उद्योगीहरूको चेतावनी

Advertisement

काठमाडौं । सरकारले हालै ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । 

उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने पनि चेतावनी दिए । मंगलबार पत्रकार सम्मेलन गर्र्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमाा उत्रिन बाध्य हुने चेतावनी दिए । 

Advertisement

सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उद्योगीहरुले आफूहरु मारमा परेको बताएका छन् । उनीहरुले यसले गर्दा उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो पोखेका छन् । 

आगामी आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । 
नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले छ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको बताए । नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाए । 

देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी सामग्री भित्राएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको अधिकारीको भनाई छ । आफूहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए । 

उनले भने, ‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ ।’ उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा एक प्रतिशत मात्र अन्तःशुल्क लिएको भन्दै अधिकारीले तत्काल निर्णय सच्चाउनुपर्ने बताए । 

सेनेटरी प्याड उत्पादनमा पूर्णरुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ । अधिकारीले गएको आर्थिक बर्ष २०७७–७८ मा नेपाल आफैले तीन अर्बको सेनेटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाई नभए केही दिनभित्रै छ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्र्ने उनले चेतावनी दिए । 

साखः स्टिलका सञ्चालक किरण साखःले डन्डीको विषयमा धेरै पटक मिडियामा आएको बताउँदै पूरानो समस्या अझै पनि सरकारले सम्बोधन नगरेको बताए । अहिलेको बजेटको विषयमा बोल्दै उनले २४–२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको टिप्पणी गरे । साखःले प्रश्न गरे, ‘स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो ?’

उनले ४–५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशयी भएको बताए । सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको साखःले विरोध गरे । उनले सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने दाबी गरे ।   
साखःले भने, ‘नेपाली उद्योगबाटै बिलेट दिन्छांै, तपाईंहरु खरिद गरेर बिक्री गर्नुस भन्छ सरकारले । तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ । कि त भारतको मूल्यमा दिनुप्रयो ।’

अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्तःशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले  सुनाए । साखःले भने, ‘तर सरकारले त्यो मान्न तयार भएन ।’ भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनले बताए । 

सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास अझै रहेको भन्दै साखःले भने, ‘आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पूरा गर्नैपर्छ । हामीले जायज माग उठाएका छौं ।’ सरकारले मनन गरेर उद्योगीहरुको माग सुन्नुपर्ने उनले बताए । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै साखःले गलत नीति तत्काल सच्याउनुपर्ने बताए । 

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखे । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।

Advertisement

Advertisement