मर्जरपछि कम्पनीहरुको जोखिम बढ्छ, तर नेपाल पुनर्बीमा रक्षाबरणमा सघाउन तयार छः भण्डारी

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरु मर्जरमा जाँदा कम्पनीहरुमा जोखिम धेरै हुने बताउँदै तर त्यसको रक्षावरण गर्न आफूहरु तयार रहेको बताएको छ । 

बीमा समितिले पुँजी बढाउनुपर्ने निर्देशन जारी गरेसँगै कम्पनीहरु मर्जरमा जान सुरु गरेको बेला नेपाल पुनर्बीमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दामोदर भण्डारीले जोखिम बढे पनि रक्षावरणमा सघाउन आफूहरु तयार रहेको बताएका हुन् । 

Advertisement

उनले बीमा कम्पनीहरु मर्ज हुनु र नहुनुले धेरै तात्विक भिन्नता नराख्ने जस्तो देखिए पनि यसबाट पुनर्बीमा कम्पनीहरु अछुतो नरहने बताए । 

भण्डारीको भनाई जस्तोको तस्तैः 
कम्पनीहरु धेरै भए पनि पुनर्बीमा कम्पनीमा व्यवसाय राख्न मिल्छ । तर, धेरै कम्पनीहरु हुँदा र थोरै हुँदा व्यवसायको बाँडफाँडमा चाही केही भिन्नता हुन्छ भन्ने हाम्रो अनुमान छ । कम्पनीको संख्या धेरै हुँदा कुनै कम्पनीको व्यवसाय हामीले पाउँछौं भने कुनै कम्पनीको अन्य कम्पनीमा जाने संभावना हुन्थ्यो । 

तर, अब कम्पनीको संख्या थोरै भएपछि व्यवसाय संख्यात्मक रुपमा त कम होला तर हामीले पाउने व्यवसायको आकार भने बढ्ने सम्भावना छ । अन्य बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति भए जस्तै हामी नेपाल पुनर्बीमा कम्पनीको पनि नियमनकारी निकामक त्यही बीमा समिति नै हो । 

त्यसैले नियमनकारी निकायले दिएको निर्देशनलाई पूरा गर्न सघाउनु हाम्रो पनि दायित्व हुन्छ । समितिले अहिले मर्जरको नीति लिएको छ भने हामीलाई पनि मर्जर सहयोगी नै देखिएको छ । 

मर्जर सहयोगी हुनुमा एकातिर हामीले पाइरहेको व्यवसाय गुमाउनु पर्दैन भने नयाँ कम्पनीको नयाँ रणनीतिलाई नेपाल पुनर्बीमा कम्पनीले पनि आत्मसाथ गर्दै अरु व्यवसाय थप्ने मौका पाउनेछ । 

मार्केट शेयरको आधारमा नै व्यवसायको निर्धारण हुने भएकाले बीमा मर्जर पुनर्बीमा कम्पनीको लागि सहयोगी हुने देखिन्छ । कोरोना बीमाको १ अर्ब २० करोड भुक्तानीमा नेपाल रि दाबी भुक्तानीमा सबल छ भन्ने कुरा हामीले चालु आर्थिक वर्षको कोरोना बीमाबाटै थाहा पाउन सक्छौं । 

नेपाल रिले चालु आर्थिक वर्षमा कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब २० करोड रुपियाँ तिर्न सफल भयो । दाबी भुक्तानी जसले जहाँबाट दिए पनि आखिर त्यति रकम त बीमितले नै पाउनु भएको हो । नेपाल रिले बीमा मात्र नभई पुनर्बीमा पनि गर्ने भएकाले आगामी दिनमा बीमा बजारको संरचना परिवर्तन भएमा आफूलाई पनि परिमार्जन गर्दै हामी पनि अघि बढ्नु पर्ने हुन्छ । 

अहिले नेपाल पुनर्बीमामार्फत नै धेरै दाबी भुक्तानी तिरिएकाले पनि बजारमा हाम्रो कम्पनीप्रति नागरिकको विश्वास बढेको पाएका छौं । आगामी दिनमा नेपाल पुनर्बीमा कम्पनीले अझै कर्मचारीहरु थपेर सशक्त ढंगले अघि बढ्ने छ । अब पुनर्बीमाकै लागि नेपाली बीमा कम्पनीहरुले विदेश धाउनु जरुरी छैन् ।

Advertisement

Advertisement