मेट–लाइफको प्रिमियम भुक्तानी अब इसेवाबाटै

Advertisement

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवामार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो ।

अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभस सापकोटाले भने ‘हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सकिनेछ । ’

यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहक महानुभावलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा यो कम्पनी सधैं हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेको जनरल म्यानेजर श्रेष्ठले जानकारी दिए ।

देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेको कम्पनीले जनाएको छ । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement